धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमादेवी विष्टले सुदूरपश्चिममा झुट बोल्नेहरुको तथ्याङ्क निकाले एक नम्बरमा मुख्यमन्त्री नै पर्ने बताएकी छन् । आइतबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘यो सदूरपश्चिममा झुट बोल्ने को भनेर तथ्याङ्क निकाल्ने हो भनेपछि एक नम्बरमा हाम्रो मुख्यमन्त्री पर्नुहुन्छ,’ राप्रपाकी प्रदेशसभा सदस्य बिष्टले भनिन्, ‘उहाँले कुरा चाँही राम्रा गर्नुहुन्छ, उहाँको कुरा आकर्षण हुन्छन्, ए मुख्यमन्त्रीज्यूले राम्रो कुरा गर्नुभयो, यो कुरा साँच्चै होला कि भनेर समर्थन पनि गरिन्छ । तर ती कुरा लागु कहिले पनि हुँदैनन् । उहाँले बोल्नुहुन्छ पछि बिर्सी हाल्नुहुन्छ ।’
बिष्टले गुप्तवासमा बसेको सरकारको आज दर्शन गर्न पाइएको भन्दै सरकारप्रति कटाक्ष पनि गरिन् । उनले प्रदेशसभा सरकार बनाउन, गिराउन, बजेट बनाउनमा मात्रै केन्द्रित रहेको बताइन् । सरकारको लक्ष्य र भिजन कहाँसम्म पुग्ने हो भन्नेमा समेत आफूहरू अनभिज्ञ रहेको उनले बताइन् ।
प्रतिक्रिया