धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राजुकुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएका हुन् । अब उपाध्यक्षका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेकपा (एकीकृत समाजवादी)बाट जवा शाहीको उम्मेदवारी छ ।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया