ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा दुई अस्थायी मतदान केन्द्र निर्धारण

सोमबार ११, फागुन २०८२ १०:०९

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले कारागार शाखा र भीमदत्त नगरपालिका कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको बताए ।

जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीका लागि उक्त अस्थायी मतदान केन्द्र निर्धारण गरिएको अधिकृत जोशीले बताए ।

यहाँ अस्थायी मतदाताको सङ्ख्या पाँच सयभन्दा बढी रहेको छ, जसमा २१ जना कैदीबन्दी रहेका छन् । कारागारमा धेरै कैदीबन्दी रहे पनि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मात्र मतदान गर्न दिइने व्यवस्था रहेको अधिकृत जोशीले जानकारी दिए ।

यसैबिच, जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट कार्य सम्पन्न भई तालिम सुरु गरिएको छ । आज निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । सोमबार निर्वाचन क्षेत्र नं २ र ३ का लागि तालिम सञ्चालन योजना छ ।

तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले सहायक कर्मचारी छनोट गरी खटाउने कार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । मतपत्र तथा निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री जिल्लामा आइपुगेको र निर्वाचन क्षेत्रमा ढुवानी गर्ने कार्य भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा पठाइएका सामग्री रुजु गर्ने र पोका बनाउने कार्य भइरहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया