धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बसेको छ । असोज ६ गते चालु आर्थिक वर्षको बजेट पारित गर्न बसेको प्रदेशसभाको बैठक ठिक चार महिनापछि आइतबार भएको हो । बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राखेका छन् ।
बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा माओवादी केन्द्रका दल नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी, एकीकृत समाजवादीका उपनेता प्रकाश रावल, राप्रपाका खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा. तारा जोशीले आफ्नो विचार व्यक्त गरे । सो क्रममा अधिकांश प्रदेश सांसद प्रदेश सरकारसंग खुसी देखिएनन् । उनीहरुले प्रदेश सरकार ठिक बाटोमा नभएको बताए ।
माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले चार महिनापछि प्रदेशसभा बैठक बोलाएको भन्दै प्रदेशसभा सचिवालय र प्रदेश सरकारलाई धन्यवाद नै दिए । ‘लामोसमयपछि माननियज्यूहरुको फेरि परिचय भएको छ,’ उनले भने, ‘यो अवसर जुराइदिएकोमा धन्यवाद ज्ञापन गर्दछु ।’ उनले स्थायी राजधानी स्थापनाका विषयमा वर्तमान सरकार बेखबर रहेको आरोप लगाए । ‘प्रदेशसभा स्थापना भएको आठ वर्षसम्म पनि राजधानी स्थापनाको निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भनेर टुंयो लगाइएको छैन । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । असोज ६ गतेदेखि सरकारका गतिविधिबारे सदन नै जानकार नभएको बताउँदै उनले आपत्ति जनाए ।
प्रदेशसभा सदस्य डा. तारा जोशीले कार्यतालिका बनाएर काम गर्ने मुख्यमन्त्री आवश्यक रहेको बताए । ‘शिशिर योगीको एउटा गीत छ–म एउटा मान्छे खोजिरहेछु भन्ने,’ विशेष समयमा बोल्दै उनले भने, ‘म पनि एउटा मान्छे खोज्न यहाँ आएको छु ।’ उनले मुख्यमन्त्रीले कार्यतालिका बनाएर जानुपर्ने कुरामा जोड दिँदै आम नागरिकका असन्तुष्टिलाई कार्यतालिकाबिना सम्बोधन गर्न नसकिने बताए । जोशीले लामो समयपछि बैठक बसेकोले आफूलाई भर्खर चुनाव जितेर आएको जस्तो अनुभूति भएको भन्दै कटाक्षसमेत गरे ।
विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य खेमादेवी बिष्टले सुदूरपश्चिममा झुट बोल्नेहरुको तथ्याङ्क निकाले एक नम्बरमा मुख्यमन्त्री नै पर्ने बताइन् । ‘यो सदूरपश्चिममा झुट बोल्ने को भनेर तथ्याङ्क निकाल्ने हो भनेपछि एक नम्बरमा हाम्रो मुख्यमन्त्री पर्नुहुन्छ,’ राप्रपाकी प्रदेशसभा सदस्य बिष्टले भनिन्, ‘उहाँले कुरा चाँही राम्रा गर्नुहुन्छ । उहाँका कुरा आकर्षण हुन्छन् । तर ती कुरा लागू कहिले पनि हुँदैनन् ।’ बिष्टले गुप्तवासमा बसेको सरकारको आज दर्शन गर्न पाइएको भन्दै सरकारप्रति कटाक्ष पनि गरिन् । उनले प्रदेशसभा सरकार बनाउन, गिराउन, बजेट बनाउनमा मात्रै केन्द्रित रहेको बताइन् ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले सरकारका संयन्त्रहरु चलायमान नहुँदा समस्या भएको बताए । ‘हाम्रो प्रदेशमा अहिले पनि सरकारका संयन्त्र चलायमान भएका छैनन,’ उनले भने, ‘संसदीय समिति मिनी सदन हो । तर, ती समिति नै छैनन् ।’ उनले प्रदेश सरकारप्रति आम नागरिकमा वितृष्णा बढ्दै गएको बताए ।
एकीकृत समाजवादीका प्रदेशसभा सदस्य प्रकाश रावलले चार महिनासम्म प्रदेशसभा बैठक नहुँदा सरकार हराएको गुनासो आउने गरेको बताए । प्रदेसभा सदस्यले जहाँ गए पनि गाली खानुपर्ने अवस्था सृजना भएको उनले बताए । ‘माननियज्यूहरु जता गयो त्यहिँ गाली खानुपर्ने अवस्था छ,’ उनले भने, ‘यो अवस्था सृजना गर्ने काम हामीबाटै भएको छ । प्रदेश सरकारको औचित्य छैन भन्न थालिएको छ । यो अवस्थालाई सुधार गर्न आवश्यक छ ।’
नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम धामीले प्रदेश सरकारप्रति गुनासो बढ्दै गइरहेको बताए । उनले प्रदेशलाई बदनामीबाट मुक्त गर्नका लागि सबै मिलेर उपयुक्त वातावरण मिलाउन आवश्यक रहेको बताए । ‘त्यो वातावरण बनाउन सकिएन भने आगमी दिनहरु अझै खराब हुँदै जानेछन्,’ उनले भने ।
प्रतिक्रिया