ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संघीय सरकारका कारण समस्या आयो : मुख्यमन्त्री शाह

सोमबार ०७, माघ २०८१ ०६:०२

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारका कारण समस्या आएको बताएका छन् । प्रदेशसभा स्थापना दिवसको अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले घुमाउरो रुपमा संघीय सरकारका कारण प्रदेशलाई पनि काम गर्न समस्या भइरहेको बताएका हुन् ।

‘संघीयता कार्यान्वयनसंग जोडिएका केही समस्याले प्रदेश सरकारको गतिविधिलाई समस्या पारेको छ,’ उनले भने, ‘संघीय सरकारले निर्माण गर्नुपर्ने ऐन, नियम र कानुन समयमै तर्जुमा नहुँदा प्रदेशस्तरमा नीति तथा कानुन निर्माणमा कठिनाई भोग्नुपरेको छ ।’

प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागि एकल र साझा अधिकार रहेको बताउँदै उनले साझा अधिकारको प्राप्तिका लागि प्रधानमन्त्रीसहितको बैठकमा पटकपटक आवाज उठाएको उनले बताए । मुख्यमन्त्री शाहले संघीयता कार्यान्वयनसंगै विकास र समृद्धिलाई केन्द्रमा राखेर प्रदेश सरकारले कार्यसम्पादन गरिरहेको बताए ।

‘प्रदेश सरकार कार्यसम्पादनलाई अझै प्रभावकारी बनाउन लागेको छ,’ उनले भने, ‘प्रदेशसभामा रहेका सबै राजनीतिक दलका प्रदेशसभा सदस्यहरु र प्रदेशसभा सचिवालयको सहयोगले नै त्यो गर्न सकिन्छ ।’
 

प्रतिक्रिया