धनगढी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशहरुमा विगतको तुलनामा विकास निर्माण र ऐनकानुन निर्माणले गति लिन नसकेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको स्थापना दिवसको अवसरमा आज धनगढीस्थित प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेशहरुमा मुख्यमन्त्री, मन्त्री र सरकार बन्ने कामले मात्र गति लिएको टीप्पणी गरे ।
‘मुख्यमन्त्री बन्ने, सरकार बन्ने र मन्त्री बन्नेमा मात्र प्रदेशहरुले गति समातेको छ, अरु कुनै काममा गति समातेको छैन’ भट्टले भने, ‘यसमा केन्द्रको नेतृत्व र प्रदेशको नेतृत्वले सोँच्नुपर्छ ।’ प्रदेश तहले काम गर्न नसक्दा प्रदेशमाथि उठ्ने प्रश्नले बल पाइरहेको उनले बताए ।
शून्यबाट काम सुरु गर्नुको चुनौतीबीच काुनन र विकास निर्माणमा अहिलेको भन्दा संस्थापक प्रदेश सभा र सरकारले बढी काम गरेको भट्टले दावी गरे ।
‘सुरुमा हामीसँग कानुन थिएन, संरचना थिएन, अनुभव थिएन, कर्मचारी थिएनन् । सरकार कुन कोठाबाट सञ्चालन गर्ने भन्ने समस्यामा थियौँ’ भट्टले भने, ‘जानेर–नजानेर, अनुभवको कमी, सिस्टमका कारण केही कमजोरी भएको हुनसक्छ तर कानुन निर्माण, विकास निर्माण र सबैसँग सहकार्य गरेर अगाडि बढ्ने गतिमा योभन्दा पहिलेको संसद, योभन्दा पहिलेको सरकार मजबुद तरिकाले अगाडि बढेको थियो, यो सबैले महसुस गरेको कुरा हो ।’
त्यसबेला सरकारले पहिलो र दोस्रो वर्षलाई कानुन वर्ष निर्माणको वर्षको रुपमा अगाडि सारेर २४ वटा कानुन निर्माण गरेको उनले स्मरण गरे । सबैसँग सहकार्य गरेर जाने सन्दर्भमा पनि अहिलेको सरकार कमजोर देखिएको उनको भनाइ थियो । सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य, समन्वय गरेर जाने विगतको कडी अहिले टुटेको उनले दावी गरे । कानुन निर्माण र साझा विषयमा विगतमा सदन एकमत भएर जाने गरेको उनले बताए ।
‘प्रदेश सभामा कानुन निर्माण गर्दा सत्ता पक्ष र प्रतिपक्ष भएन । यो त्यतिखेरको सबैभन्दा राम्रो पक्ष हो । हामीबीच त्यतिबेला पहिलो कार्यकाल हो बढी मेहनत गरेर पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने बहस हुन्थ्यो । बजेट र समसामयिक विषयमा सत्तापक्ष र प्रतिपक्ष हुन्थ्यो तर सदनमा हामी एकमत भएर जान्थ्यौँ’ भट्टले भने, ‘त्यतिबेलाको सरकार र सदनका लागि त्यो नै एउटा मजबुद कडी थियो तर त्यो कडीलाई दोस्रो कार्यकालमा अगाडि बढाउन सकेको महसुस गरेका छैनौँ ।’
सत्तापक्ष र प्रतिपक्षको बीचमा साझा विषयमा सहकार्य गरेर जाने माहोल बन्न जरुरी रहेको उनले बताए । सुदूरपश्चिमको समग्र विकासका लागि तथा केन्द्रबाट अधिकार प्राप्त गर्ने सन्दर्भमा एकजुट भएर जान उनले सदनलाई आग्रह गरे । अहिले पनि संविधानअनुसार प्रहरी समायोजनजस्ता अधिकार प्रदेशले प्राप्त गर्न नसकेको भन्दै अधिकार पाउन नसक्दा प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए ।
‘प्रहरी समायोजन अगाडि बढेको छैन । संघीय निजामति ऐन नआउँदा कर्मचारीमा समस्या छ’ भट्टले भने, ‘संविधानमा भएका अधिकार प्राप्त गर्न प्रदेशका वौद्धिक वर्ग, प्रदेशका सांसद सबै एक ठाउँमा आउनु पर्छ ।’ संघीयता बलियो हुन नसक्नुमा प्रशासनिक र राजनीतिक नेतृत्वको सोँचका प्रमुख कारण रहेको उनले औँल्याए । प्रदेशलाई बलियो बनाउन प्रदेश सांसदको मुख्य भूमिका हुनुपर्ने र सरकारले गर्ने काम साझा हुनुपर्ने भट्टले बताए ।
‘काठमाडौँभन्दा तल एउटा निकाय छैन भने उनीहरुले मन्त्री, सचिव भएको ठानेका छैनन् । सबै मन्त्रीलाई तलतल कार्यालय चाहिएको छ । मन्त्री तल आउँदा गाडीको लस्कर चाहेको छ । सरकारका सचिव, मुख्यसचिवले सबै जिल्लामा उसका कार्यालय होउन् भन्ने चिन्तन राखेको हुन्छ’ भट्टले भने, ‘यसले संघीयतालाई कमजोर बनाइरहेको छ ।’
विगतमा सरकारले सुरु गरेका विकास निर्माणका काम अहिले रोकिएको भन्दै भट्टले असन्तुष्टि जनाए । संघ र प्रदेशमा दुई तिहाइको सरकार भए पनि जनताको चाहनाअनुसार सरकारले काम गर्न नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया