धनगढी । कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश अन्तिम चारमा पुगेका छन् । मंगलबार भएका खेलमा विजयी हुँदै दुबै टोली सुपर चारमा पुगेका हुन् । मंगलबार फाप्ला मैदानमा भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हरायो ।
३७ रनको लक्ष्य पछ्याएको आर्मीले ६.२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि सम्झना खड्काले ३२ रन बनाइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले खराब मौसमका कारण सात ओभरमा छोट्याइएको खेलमा ५ विकेट गुमाएर ३६ रन बनाएको थियो । उसका लागि स्मृती कटुवालले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीका मनिषा चौधरीले ३ तथा सुस्मिता भुषालले २ विकेट लिइन् ।
मंगलबार नै भएको समूह चरणको अन्तिम खेलमा बागमतीले मधेश प्रदेशलाई ७ विकेटले हरायो । बागमतीले ६.४ ओभरमा ३ विकेट गुमाउँदै ४१ रनको लक्ष्य भेट्टायो । बागमतीको जितमा यशु पाण्डेले १९ रन बनाइन् । मधेशका रोजी कडारीले २ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ४० रन बनाएको थियो । मधेशका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका कञ्चन श्रेष्ठले ४ र विपिषा शाहीले २ विकेट लिइन् ।
योसंगै समूह चरणका खेल सकिएका छन् । समूह चरणमा दुई÷दुई खेल जितेका आर्मी र बागमती क्रमसः समूह बिजेता र उपबिजेता हुँदै सुपर चारमा पुगेका छन् । ‘बी’ समूहमा दुबै टोलीको समान चार÷चार अंक भए पनि नेट रनरेटका आधारमा आर्मी समूह बिजेता भएको हो । समान चार अंक नै रहेको कोशी प्रदेश भने कमजोर रनरेटका कारण प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणका तीन वटै खेलमा पराजित भएको मधेश प्रदेश पनि अंकविहीन हुँदै बाहिरिएको छ ।
शीर्ष चार टोलीको टुंगो लागेको छ । समूह ‘ए’ बाट भने यसअघि नै विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिम अन्तिम चारमा प्रवेश गरिसकेका थिए। सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको दुई टोलीसँग खेल्नेछन् । आयोजक नेपाल क्रिकेट संघका अनुसार सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुनेछ ।
प्रतिक्रिया