धनगढी । बाजुरा उपनिर्वाचनमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा माओवादीले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गरेको हो ।
माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाको प्रचारमा खटिएकी छिन् । माओवादी केन्द्र बाजुरका जिल्ला अध्यक्ष देवीचन्द्र बुढा दीपकका अनुसार पार्टीले कुनै निर्णय नगरे पनि विकले उम्मेदवारी फिर्ता लिएकी हुन् । ‘पार्टीले न उम्मेदवारी फिर्ताको निर्णय गरेको थियो न त कुनै अन्य उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘तर, उम्मेदवारी फिर्ता गरेर एमालेलाई समर्थन गरेको चर्चा सुनिएको छ ।’
माओवादीले पालिकास्तरबाटै निर्णय गरेर विकको उम्मेदवारी फिर्ता गरेको बताइएको छ । ०८४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई उपाअध्यक्षसहित केही वडा अध्यक्षमा सर्मथन गर्ने सहमति भएको छ । यता नेकपा एमालेका सुदूरुपश्चिम सचिव रणबहादुर चन्दले माओवादीको समर्थनबारे वडा र पालिकास्तरमा निर्णय भएको बताए । ‘प्रदेश र जिल्ला कमिटिले कुनै निर्णय नगरेको भए पनि माओवादीबाट समर्थन पाइएको छ,’ उनले भने ।
स्वामीकार्तिकको उपाध्यक्षका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा एमालेबाट बुढा, नेकपा (एकीकृत समाजवादी)बाट जवा शाहीको उम्मेदवारी छ ।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । ०७९ मा उपाध्यक्षमा काँग्रेसकी जोशीले एक हजार आठ सय १० मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले) की सुलोचना भण्डारी बुढाले एक हजार छ सय ३७ ल्याएकी थिइन् । बुढा यसपटक पनि उम्मेदवार छिन् ।
प्रतिक्रिया