धनगढी । शनिबार कञ्चनपुरको दैजीमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सवार सरकारी गाडी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रोके । उनीहरुले बिदामा सरकारी गाडी चलाउने पास मागे । तर, रावल सवार गाडीलाई त्यो अनुमति थिएन ।
‘हामीले प्रहरी र प्रशासनको समन्वयमा बिदामा सवारी पास बिना चलेका गाडी रोक्ने कार्यक्रम राखेका थियौं, मध्यान्न १२ बजेको समयमा दुई वटा सरकारी गाडी महेन्द्रनगरबाट दैजी चोकमा पुगेका थिए,’ रास्वपा बेदकोटका नगर सभापति डम्मर भट्ट भन्छन्, ‘एउटा गाडीमा भीमदत्त नगरपालिकाका प्रमुख थिए भने अर्को गाडीमा पूर्वमुख्यमन्त्री रावल थिए । मेयर सापसंग बिदाको दिन सवारी सञ्चालनका लागि लिएको अनुमति पत्र थियो । पूर्वमुख्यमन्त्रीज्यू सवार गाडी भने अनुमति बिना चलाइएको थियो ।’
भट्टका अनुसार आफू सवार गाडी रोकेको भन्दै पूर्वमुख्यमन्त्री रावलले गाडीबाटै उत्रिएर युवाहरुसंग वादविवाद गरेका थिए । ‘उहाँ त हामीसंग आफू पूर्वमुख्यमन्त्री भएको भन्दै लड्न आउनुभएको थियो,’ उनले भने, ‘उहाँका सहयोगीले तानेर गाडीभित्र बसाउनुभयो । पछि कञ्चनपुरका एसपी सापले रावललाई २४ घण्टानै गाडी चलाउने अनुमति रहेको बताएपछि हामीले गाडी छाडेका थियौं ।’
उक्त घटनापछि रावलले कञ्चनपुर प्रहरीलाई दवाव दिएर दैजीका एकजना व्यापारीलाई पक्राउ गर्न लगाए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार पूर्वमुख्यमन्त्री रावलले आफूमाथि दुव्र्यवहार भएको बताएपछि दैजीका ४७ वर्षीय केशवदत्त पन्तलाई पक्राउ गरिएको थियो । सामान्य घटना भएको बताउँदै डीएसपी जोशीले पक्राउ परेका ती व्यक्तिलाई सम्झाइबुझाइ छोडेको जानकारी दिए । ‘आफै नियम मिचेका रावलले सडकमै दादागिरी देखाएका थिए,’ बेदकोटका एक व्यापारीले भने, ‘उल्टै पावर लगाएर मान्छे थुन्न लगाए ।’
घटनापछि रावलको सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वमुख्यमन्त्रीमाथि दुव्र्यवहार भएको भन्दै भत्र्सना गर्यो । ‘रास्वपा कार्यकर्ताहरुले पूर्वमुख्यमन्त्री चढेको गाडीलाई रोकेर चालकलाई गालीगलौच र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानुनी राजको खिल्ली उडाएको प्रतित भएको छ,’ पूर्वमुख्यमन्त्री रावलको सचिवालयले भनेको थियो, ‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मुकदर्शक भई अराजक समूहको अगाडि निरिहता देखाएकोमा आपत्ति छ ।’ रावलको सचिवालले प्रदेशसभाबाट सवारी अनुमति लिएर काम विशेषले गाडी चलाएको पनि गरेको थियो ।
प्रदेश सभा सचिवालयबाट ‘ब्याक डेट’ मा सवारी पास
घटनालगत्तै धनगढी आएका रावलले शनिबारको दिन भए पनि प्रदेशसभा सचिवलाई निर्देशन गरेर अनुमति पत्र तयार गर्न लगाए । दिउँसो २ बजे प्रदेशसभा सचिव देवबहादुर बोगटीले सु.प.प्र ०१–००१ झ ३१८ नम्बरको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको उक्त गाडीलाई माघ ९ गतेदेखि ०८२ वैशाख ३० गतेसम्मको मिति राखेर सार्वजनिक बिदाको दिन सवारीसाधन प्रयोग गर्ने सवारी पास दिए । उक्त पास दिने क्षेत्राधिकार प्रदेशसभासंग छैन ।
गृह मन्त्रालयद्वारा ०७९ जेठ १२ गते जारी सवारीसाधन पास सम्बन्धि परिपत्रको दोस्रो बुँदामा ‘प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरी प्रदेश सरकारका प्रमुख सचिवले ढाँचा बमोजिम पास जारी गर्ने’ उल्लेख छ । उक्त परिपत्रअनुसार रावल सवार गाडीको पास प्रदेशसभा सचिवालयले नभई आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको निर्णयमा प्रमुख सचिवले जारी गर्नुपर्ने थियो ।
यता प्रदेशसभा सचिव बोगटीले पनि पास जारी गरेर गल्ती भएको स्विकारेका छन् । ‘पूर्वमुख्यमन्त्रीज्यूले शनिबार दिउँसो आत्तिएर फोन गरेपछि मैले त्यो अनुमति पत्र बनाइदिएको हुँ,’ प्रदेशसभा सचिव बोगटीले भने, ‘त्यो अनुमति दिन नमिल्ने रहेछ । गल्ती भयो । अहिले मलाई नैतिक संकट परेर ग्लानी भइरहेको छ ।’
नियमविपरीत गाडी सुविधा
प्रदेश सरकार र प्रदेशसभाबाट प्रदेशका तोकिएका पदाधिकारीले सवारी सुविधा पाउने व्यवस्था छ । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ मा मुख्यमन्त्रीलाई दुई, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री एक÷एक वटा सवारीसाधन उपलब्ध गराउने व्यवस्था छ ।
यस्तै, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ मा सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, प्रमुख प्रतिपक्ष दलका नेता, सत्ता पक्षका प्रमुख सचेतक र सचेतक, विपक्षी दलको प्रमुख सचेतकलाई प्रदेशसभाले सवारीसाधन सुविधा उपलब्ध गराउने व्यवस्था छ ।
पूर्वमुख्यमन्त्री र सत्ता पक्षका दलका नेतालाई प्रदेश सरकार र प्रदेशसभाबाट सवारीसाधनको उपलब्ध गराउने कानुनी व्यवस्था छैन ।तर पूर्वमुख्यमन्त्री रावलले सरकारी गाडी सुविधा लिइरहेका छन् । यसअघि आर्थिक मामिला मन्त्रालयको गाडी प्रयोग गर्दै आएका पूर्वमुख्यमन्त्री रावल पुस अन्तिम सातादेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी प्रयोग गर्दै आएका छन् ।
‘त्यो गाडी विशिष्ट व्यक्तिका लागि हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘व्यवहारिक रुपमा पूर्वमुख्यमन्त्रीज्यूलाई दिइएको हो । इन्धन खर्च पनि मन्त्रालयबाटै ब्यहार्ने गरिएको छ ।’ शनिबारको घटनापछि एमाले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु दल नेता रावलका गतिविधिबारे असन्तुष्टि जनाउन थालेका छन् । ‘उहाँको कार्यशैली ठिक भएन,’ एकजना प्रदेशसभा सदस्यले भने, ‘अब दलको बैठकमा गाडी प्रयोगको विषय पनि उठाउँछौं ।’
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले पनि घटनाबारे जान्न खोजेको बताए । ‘मैले उहाँ (रावल)लाई फोन गरेको थिए, तर उहाँले फोन उठाउनुभएको छैन,’ भट्टले भने, ‘सोमबार थप कुरा हुन्छ ।’ यता पूर्वमुख्यमन्त्री रावलले भने घटनाको बस्तुस्थिती सार्वजनिक भइसकेको बताउँदै त्यसबारे केही नबोल्ने बताए ।
प्रतिक्रिया