टीकापुर । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नवप्रवेशीले राजनीतिलाई बदनाम गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै राठौरले जसको जे काम हो उसले उहीँ काम गर्नुपर्ने बताएका हुन् ।
उनले रेशम चौधरी र रवि लामिछानेको नामै उल्लेख गरेर राजनीतिमा आउन नहुने पात्र भएको बताए । ‘रेशम राम्रो प्रतिभा भएको कलाकार हुन् । उनले कलाकारिताबाटै थारु समुदायका लागि केही गर्न सक्थे,’ उनले भने, ‘राजनीतिमा लागेर मिलेको समाज बिगार्ने काम मात्रै गरे ।’
उनले रास्वपाका सभापति रवि लामिछानेले समेत राजनीतिमा आएर राम्रो नगरेको बताए । ‘उनी राम्रो पत्रकार थिए । त्यसैमा उनको नाम थियो,’ उनले भने, ‘राजनीतिमा नआएको भए सायद यी कुराहरु बाहिर आउँदैन थिए होला ।’ उनले सबैको अन्तिम गन्तव्य राजनीति नै हो भन्ने गलत संस्कार विकास भएको बताए ।
राठौरले काँग्रेस कमजोर भए यो व्यवस्था नै कमजोर हुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन काँग्रेस बलियो हुनुपर्ने उल्लेख गरे । उनले नेता कार्यकर्ताहरुको आपसी लडाईँले काँग्रेस कमजोर बन्दै गएको बताउँदै सबै तित्तता त्यागेर एकजुट हुनुपर्ने बेला आएको बताए । ‘हामी नेता कार्यकर्तामा अनुशासन छैन,’ उनले भने, ‘अनुशासनहिनताले पार्टीलाई मात्रै हैन हामी स्वयमलाई समेत नोक्सान भैरहेको छ । यो कुरा हामीले बुझ्नुपर्छ ।’
उनले पार्टीको तल्लो तहमा युवाहरुको सकृयता बढ्दै गएको बताउँदै आगामी १५औं महाधिवेसनबाट केन्द्रीय समितिमा समेत युवाको संख्या बढ्न सक्ने बताए । उनले काँग्रेसको भविष्य युवाको हातमा रहेको समेत बताए ।
उनले काँग्रेस कुनै एक जात, धर्म र वर्गका पक्षमा मात्रै नबोल्ने बताउँदै सबैको हकअधिकारका लागि लड्ने र लडेको इतिहास साक्षी रहेको पार्टी भएको बताए । क्षेत्रीय सभापति प्रकाश शाहको अध्यक्षतामा सम्पन्न भएको सम्मेलन उद्घाटन समारोहमा काँग्रेस केन्द्रिय सदस्यद्वय डा. रणबहादुर रावल र नृपबहादुर वड, राष्ट्रियसभा सदस्यद्वय नारायणदत्त मिश्र र नारायण भट्ट लगायतले बोलेका थिए ।
प्रतिक्रिया