कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयका भवन एकैपटक निर्माण थालिएको छ । सङ्घीय सरकारको दुई करोड २४ लाख रुपैयाँको लागतमा विद्यालयका भवन निर्माण थालिएको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नम्बर ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नम्बर १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नम्बर ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माण कार्य अगाडि बढाइएको छ ।
चार कोठे भवन निर्माणका लागि प्रतिभवन ५६ लाख रुपैयाँका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण हुने भवन वातावरणमैत्री एवम् अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताए । रासस
प्रतिक्रिया