धनगढी । चिसो छल्न र चरिचरनका लागि हाल अछामका विभिन्न ठाउँमा रहेका बाजुराको बुढीनन्दा नगरपालिकाको पाण्डुसेन क्षेत्रका भेडाहरु सयौँ संख्यामा मरेपछि किसानहरु हैरान भएका छन् । अछामको मंगलसेन नगरपालिका-९ ओलीगाउँ क्षेत्रमा, अछामकै मेल्लेख गाउँपालिकाको सरानी, साँफेबगर नगरपालिको मार्कु, चौखुट्टे, श्रीकोटलगायतका ठाउँमा डेढसय बढी भेडा मरेका भेडापालक किसानहरुले बताएका छन् ।
मेल्लेख सरानीमा पाण्डुसेनका नरेन्द्र थापा, पेमा गुरुग, काँशी बोगटीलगायत ६ परिवारका ४० भन्दा बढी भेडा मरेका स्थानीय प्रेम थापाले बताए । उनका अनुसार मेल्लेखमा मात्र यतिबेला एक हजार बढी भेडाहरु चरिचरिनका लागि ल्याइएका छन् ।
बाजुराको बुढीनन्दा नगरपालिका-७ भीउपानी गाउँ, ८ पाण्डुसेन गोठी, ९ जुम्लारुख, १० को भिउपानी र अगाउँपानी लगायतका अधिकांश जनजाति किसान परिवारहरु यतिबेला अछामका विभिन्न ठाउँमा छन् । पाण्डुसेनका फुर्मा भण्डारीका १०, भीउपानीका १५ भेडा, डबल भण्डारीका १० भेडा मरेको थापाले बताए ।
धमाधम भेडा मर्न थालेपछि बुढीनन्दा नगरपालिकाले पशु चिकित्सकसहितको टोली दुई दिनअघि अछाम पठाएको छ । बुढीनन्दा नगरपालिकाका पशु चिकित्सक पदमराज पाण्डेसहित पशु प्राविधिक विनोदकुमार बोहरा र प्रेमबहादुर थापासहितको टोली स्थलगत अनुगमन र उपचारमा खटाइएको बुढीनन्दाका नगरप्रमुख जनककुमार बोहराले बताए ।
पशु चिकित्सक पाण्डेका अनुसार भेडालाई पखाला लाग्ने, आँखा राता हुने, लिभरमा खराबी देखिएको छ । ‘रोग यकिन भएको छैन । स्याम्पल कलेक्सन गरेर पठाउन भनेका छन् । कलेक्सन गरेर मंगलसेन पठाएका छौं,' डा. पाण्डेले भने, ‘मंगलसेन, मेल्लेख, चौखुट्टे लगायतका ठाउँमा रातारात पुगेर सक्दो उपचार गरिरहेका छौँ ।’
बाजुराको पाण्डुसेनकै ६ हजारभन्दा बढी संख्यामा भेडाहरु यतिबेला अछामका विभिन्न ठाउँमा रहेको नगरप्रमुख बोहराले बताएका छन् । ‘हिउँदमा जाडो छल्न र भेडाको चरिचरनका लागि अछाममा जाने पाण्डुसेनका जनजाति परिवारहरु धमाधम भेडा मर्न थालेपछि हैरान छन्,’ नगरप्रमुख बोहराले भने, ‘सम्पति र व्यवसायका नाममा भेडा मात्र हुने जनजाति परिवारहरुका भेडा यसरी धमाधम मर्न थालेपछि हामीलाई चिन्तित बनाएको छ । हामीले पशु चिकित्सकको टोली पठाएर सक्दो प्रयास गरिरहेका छौँ । अब सर्वसाधरण किसानको क्षति मूल्यांकन गरेर प्रदेश र संघ सरकारबाट पनि तत्काल राहत तथा क्षतिपूर्तिका ध्यानाकर्षण गराउन चाहन्छु ।’ एउटै भेडाको मूल्य २५ देखि ३५ हजारसम्म पर्दछ ।
प्रतिक्रिया