धनगढी । सुदूरपश्चिम प्रदेशमा सडक र पुलका १४५ वटा आयोजनामा बहुवर्षीय ठेक्का लगाइएको छ । २० अर्ब आठ करोड ७२ लाख २८ हजार रुपैयाँ लागत अनुमान रहेका सडक आयोजनाहरुलाई १४ अर्ब ३६ करोड ९२ लाख ५७ हजार रुपैयाँमा ठेक्का लगाइको छ ।
यीमध्ये ३९ वटा ठेक्काहरु जीर्ण भइसकेका छन् भने २८ वटा योजनाहरुको पनि पटक पटक म्याद थप भएको छ । जीर्ण भएका ठेक्कामध्ये पाँच वटा ठेक्का प्रदेश स्थापना हुनुभन्दा पहिले नै संघीय सरकारले ठेक्का लगाएका हुन् । ती ठेक्का प्रदेश सरकारले संघीय सशर्त अनुदानबाट सञ्चालन गरिरहेको छ ।
पुराना ठेक्काहरु समयमा सम्पन्न नहुँदा प्रदेश सरकारलाई आर्थिक दायित्व पनि सर्दै आएको छ । आगामी आर्थिक वर्षका लागि बहुवर्षीय ठेक्काको दायित्व दुई अर्ब तीन करोड ३६ लाख ७३ हजार रुपैयाँ रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय ठेक्कामा रहेका आयोजनाहरुको लागि चालुआर्थिक वर्षमा एक अर्ब ४५ लाख रुपैयाँ विनियोजन भएको मन्त्रालयले जनाएको छ । ती बहुवर्षीय योजनाहरुको लागि ११ अर्ब ३३ करोड १० लाख ८४ हजार रुपैयाँ खर्च भइसकेको मन्त्रालयले जनाएको छ ।
पुराना ठेक्काहरु सम्पन्न नहुँदा प्रदेश सरकारले नयाँ आयोजनाको बहुवर्षीय ठेक्का लगाउन नसक्ने अवस्थामा पुगेको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटको ठूलो हिस्सा पुराना ठेक्काको लागि विनियोजन गर्नुपर्ने, पुराना ठेक्काको भुक्तानीका लागि नयाँ योजना सिर्जना गर्नुपर्ने अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया