काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानसंग आग्रह गरेकी छिन् । इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्दै मन्त्री राणाले जोशीको रिहाइका लागि आग्रह गरेकी हुन् ।
विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिनको रिहाइको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले कब्जामुक्त गरिरहेको छ ।
हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल गर्दै आएको छ । इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरेको कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आएकी छन् ।
केही हप्ताअघि मन्त्री राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गरेका थिए ।
प्रतिक्रिया