ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मसुरिया स्वास्थ्य चौकी, जहाँ डाक्टरले सेवा दिन्छन्

शुक्रबार २५, माघ २०८१ ०३:०५

स्वास्थ्य चौकीको सेवा क्षेत्रभित्र घरमा सुत्केरी हुनेको संख्या शून्य छ । बालबालिकालाई लगाइने नियमित खोपको प्रगति शतप्रतिशत छ । वडाभरि कुपोषित बालबालिका छैनन् । सेवा प्रवाहसँगै स्वास्थ्य क्षेत्रअन्तर्गत सामाजिक स्तरमा गरिरहेको अनुकरणीय कामका कारण मसुरिया जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकी बनेको छ ।

धनगढी । करिब सात वर्षअघिसम्म नागरिकले सामान्य उपचार सेवा पाउन मुस्किल थियो । स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी थिएनन् । न्यूनतम साधनस्रोत थिएन । गाउँमै पाउनुपर्ने उपचार सेवा लिन स्थानीय बासिन्दाले धनगढी र अन्यत्रका स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता थियो । कैलालीको गौरीगंगा नगरपालिका–९, मसुरियामा रहेको मसुरिया स्वास्थ्य चौकीको त्यसबेलाको उपचार सेवाको यस्तो अवस्था हिजोआज फेरिएको छ । स्वास्थ्य चौकीमा अहिले एमबीबीएस डाक्टरले बिरामीको चेकजाँच तथा उपचार गरिरहेका छन् । स्वास्थ्यकर्मीको जनशक्ति थपिएको छ । रोग निदानका लागि आवश्यक उपकरणहरु थपिएका छन् । स्थानीयले सामान्य उपचार सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । 

करिब सात वर्षको अवधिमा मसुरिया स्वास्थ्य चौकीले उपचार सेवामा फड्को मात्र मारेको छैन, अहिले जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकी बन्न सफल भएको छ । कैलाली जिल्लाका अन्य कुनै पनि स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर छैनन् । मसुरिया स्वास्थ्य चौकीमा भने दुई वर्षयता डाक्टर अभिजित यादवले सेवा दिइरहेका छन् । डा. यादव आउनुअघि पनि केही समय एमबीबीएस डाक्टरले मसुरिया स्वास्थ्य चौकीमा सेवा दिएका दिए । स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको दरबन्दी नभए पनि स्वास्थ्य चौकीबाट आफ्ना नागरिकलाई स्तरीय उपचार सेवा दिन गौरीगंगा नगरपालिकाले आफ्नै स्रोतमा एमबीबीएस डाक्टर भर्ना गरेको हो ।

सेवा प्रवाहमा निरन्तर सुधार गरेपछि मसुरिया स्वास्थ्य चौकीलाई २०७८ मा कैलाली जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गरिएको थियो । सरकारले निर्धारण गरेको स्वास्थ्य सेवाको सूचकांकका आधारमा ८६ अंकसहित मसुरियाले उत्कृष्ट स्वास्थ्य चौकीको सम्मान प्राप्त गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय र गौरीगंगा नगरपालिकाले स्वास्थ्य चौकीलाई सम्मान गरेको हो । त्यसयता स्वास्थ्य सेवाको सूचकांकका आधारमा गरिने मूल्यांकमा मसुरिया स्वास्थ्य चौकीले पाउने अंक घटेको छैन । निरन्तरको सुधार र स्वास्थ्य सुधारमा गरिएका उदाहरणीय प्रयासले स्वास्थ्य चौकीले उत्कृष्ट स्थानलाई कायम राख्दै लगेको छ । सेवा प्रवाहको मूल्यांकन स्वरुप गतवर्ष मसुरियाले ९६ अंक प्राप्त गर्न सफल भएको थियो । जुन जिल्लाका अन्य स्वास्थ्य चौकीले पाएको अंकभन्दा सर्वाधिक हो ।

मसुरिया स्वास्थ्य चौकी उत्तीकै उत्कृष्ट भएको होइन, सेवा प्रवाहसँगै स्वास्थ्य चौकीले स्वास्थ्य क्षेत्रमा गरेको सामाजिक काम पनि अनुकरणीय छन् । स्वास्थ्य चौकीको सेवा क्षेत्रअन्तर्गत घरमा सुत्केरी हुनेको संख्या शून्य छ । बालबालिकालाई लगाइने नियमित खोपको प्रगति शतप्रतिशत छ । वडाभरि कुपोषित बालबालिका छैनन् । स्वास्थ्य स्वयम् सेविका र महिला समूह परिचालन गरेर स्वास्थ्य चौकीले कुपोषण शून्यमा झारेको हो । स्वास्थ्य चौकीले स्वयम् सेविका र महिला समूहमार्फत् बालबालिकालाई कुपोषण हुन नदिन पोषिलो खानेकुरा खुवाउनेबारे अभिभावकलाई जानकारी दिने गरेको छ । बालबालिकामा कुपोषणका सामान्य लक्षण देखिए उपचार गरिन्छ ।

जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था
स्वास्थ्य चौकीको सेवा क्षेत्रमा कुपोषित बालबालिकाको संख्या शून्य भएपछि मसुरिया स्वास्थ्य चौकीलाई २०७९ असार ३० गते पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । जिल्ला खोप समन्वय समितिले घोषणा गरेको हो । जुन जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था हो । बालबालिकामा कुपोषण हुन नदिन स्वास्थ्य चौकीले आफ्ना प्रयासहरुलाई निरन्तरता दिइरहेको छ । यही प्रयासस्वरुप स्वास्थ्य चौकीले आफ्नो कार्यक्षेत्रभित्र नवजात शिशु स्वागत तथा सुत्केरी सम्मान कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत सुत्केरीलाई आमा समूहमा सम्मान गर्ने तथा शिशुका लागि पोषिलो खाने कुरा दिने गरिन्छ । सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा कुपोषण न्यूनिकरणका लागि स्वास्थ्य संस्था तहबाट भएको यो नमुना अभ्यासका रुपमा लिइएको छ । 

मसुरिया स्वास्थ्य चौकीले खोप कार्यक्रममा पनि उदाहरणीय सफलता हासिल गरिरहेको छ । स्वास्थ्य चौकीको कार्य क्षेत्रभित्र बालबालिकामा खोप लगाउने प्रगति शतप्रतिशत छ । स्वास्थ्य चौकीले खोप लगाउने बालबालिकाको सूची तयार गरेको छ । हरेक महिनाको २ देखि ५ गतेसम्म नियमित खोप कार्यक्रम सञ्चालन गर्छ । स्वास्थ्यकर्मी परिचालन गरेर चार वटा खोप केन्द्रबाट खोप लगाउने गरिन्छ । खोप लगाउनबाट बालबालिका बञ्चित नहोउन् भनेर महिला स्वास्थ्य स्वयम्सेविका र आमा समूह परिचालन गर्ने गरिन्छ । नियमित खोप कार्यक्रमको अवधिमा कुनै बालबालिका खोप लगाउन आएनन् भने किन आएन भनेर स्वास्थ्यचौकीले सोधीखोजी गर्छ र छुटेको खोप लगाउँछ । 

२०४७ सालमा मसुरिया उपस्वास्थ्य चौकीका रुपमा स्थापना भएको यो स्वास्थ्य संस्थाको सेवा क्षेत्र मुलुक संघीय संरचनामा जानुअघि तत्कालीन मसुरिया गाविसका छ वटा वडा थिए । अहिले वडा नम्बर ९ का बस्तीहरुमा निहीत रही सेवा दिँदै आएको छ । लक्षित जनसंख्या पाँच हजार तीन सय हाराहारी छ । स्वास्थ्य चौकीअन्तर्गत समुदाय स्तरमा चार वटा खोप केन्द्र र चार वटा गाउघर क्लिनिक छन् । त्यस्तै आठ वटा आमा समूहले स्वास्थ्य शिक्षाका कार्यक्रममा सहयोग गर्दै आएका छन् । 

सुधारको नेतृत्व गरिरहेका पन्त
सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै मसुरिया स्वास्थ्य चौकीलाई उत्कृष्ट संस्था बनाउने कार्यको नेतृत्व गरिरहेका छन्, प्रमुख जनस्वास्थ्य निरीक्षक लालप्रसाद पन्त । उनी २०७६ सालदेखि मसुरिया स्वास्थ्य चौकी प्रमुखको रुपमा कार्यरत छन् । हरेक वर्ष सेवा सुधारको कार्ययोजना बनाएर काम गरेपछि सेवा सुधार हुँदै गएको पन्त बताउँछन् । स्वास्थ्य जाँच र उपचार सुविधा थपिदै गएपछि स्वास्थ्य चौकीप्रति स्थानीयको भरोसा र अपनन्त बढेको उनले बताए । ‘म यहाँ आउँदा दरबन्दीअनुसार जनशक्ति थिएन । छ जनामात्र कर्मचारी थियौँ, अहिले २० जना पुगेका छौँ,’ स्वास्थ्य चौकी प्रमुख पन्त भन्छन्, ‘स्वास्थ्य चौकीमा उपचार सुविधा पाइन्छ भन्ने जनविश्वास कम थियो । उपचार सेवामा सुधार हुँदै गएपछि जनविश्वास पनि बढेको छ ।’

स्वास्थ्य चौकीले कार्यालयबाट मात्र सेवा दिँदैन । बेलाबेला घरमै गएर जाँच, उपचार, खोपलगायतका सेवा दिने गरेको छ । स्वास्थ्य चौकीले गत वर्ष ज्येष्ठ नागरिक उपचार सेवा कार्यक्रम सुरु गरेको थियो । जसअन्तर्गत घरघरमै गएर पाँच सय जना ज्येष्ठ नागरिकलाई उपचार सेवा दिएको थियो । यो कार्यक्रमलाई यस वर्षको कार्ययोजनामा पनि समावेश गरिएको स्वास्थ्य चौकी प्रमुख पन्तले जानकारी दिए । ‘कर्मचारीको लगनशीलता तथा स्थानीयबासिन्दा र नगरपालिकाको सहयोगमा यो सुधार संभव भएको हो’ पन्त भन्छन्, ‘केही वर्षयता हामीले जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थाको स्थान कायम राखेका छौँ ।’

स्वास्थ्य चौकीमा आँखा उपचार सेवा
स्वास्थ्य चौकीले आँखा जाँच तथा उपचार सेवा पनि दिने गरेको छ । आँखाको चेकजाँच, सामान्य उपचार र चस्मा बनाउने सेवा स्वास्थ्य चौकीमा उपलब्ध छ । गत वर्ष एक हजार तीन सय जनाले आँखा जाँच सेवा लिएका तथ्यांक छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई स्वास्थ्य चौकीले गेटा आँखा अस्पताल पठाउने गरेको छ । स्वास्थ्य चौकीको आफ्नै फार्मेसी छ । एक्सरे, भिडियो एक्सरे, इसिजी, नेबुलाइजेसन सेवा छ । यी सेवा अन्य स्वास्थ्य चौकीभन्दा फरक रहेको स्वास्थ्य चौकी प्रमुख पन्त बताउँछन् । 

स्वास्थ्य चौकीले प्रदान गरिरहेको गुणस्तरीय सेवा र जनताले स्वास्थ्य चौकीप्रति गरेको विश्वासका कारण मसुरिया स्वास्थ्य चौकी अरुभन्दा फरक रहेको उनले बताए । मसुरिया स्वास्थ्य चौकीमा चौबिसै घण्टा प्रसुति सेवा उपलब्ध छ । घरमा हुने सुत्केरी शून्य छ । स्वास्थ्य चौकीको तथ्यांकअनुसार गत वर्ष बर्थिङ सेन्टरबाट चार सय ५० महिलाले प्रसुति सेवा लिएका थिए । स्वास्थ्य चौकीले निशुल्क एम्बुलेन्स सेवा दिइरहेको छ । सेवाग्राहीले सरकारले निशुल्क तोकेका मध्ये केही औषधी स्वास्थ्य चौकीको फार्मेसीबाट पाउँछन् । स्वास्थ्य चौकीले आमा सुरक्षा सेवा विदाको दिन पनि दिने गरेको छ । स्वास्थ्य चौकी र समुदायस्तरमा दिइरहेका सेवाबारे बुझ्न डेनमार्कका दुई जना नागरिक पनि गत वर्ष मसुरिया स्वास्थ्य चौकी पुगेका थिए ।

स्वास्थ्य चौकीले दिइरहेका सेवाहरु
–चौबिसै घण्टा प्रसुति सेवा
–दैनिक बिरामि जाचँ तथा परामर्श सेवा
–परिवार नियोजन सेवा
–पोषण सेवा
–खोप सेवा
–बहिरंड उपचार सेवा
–दैनिक चिकित्सकिय सेवा 
–आँखा जाचँ तथा चस्मासहित उपचार सेवा
–गुणस्तरीय प्रयोगशाला सेवा
–भिडियो एक्सरे सेवा 
–फार्मेसी सेवा
–इसिजी सेवा 
–नेवुलाइजेसन सेवा
–अक्सिजन सेवा 
–सिबि डट्स सेवा 
–गाँउघर क्लिनिक सेवा
–निशुल्क औषधि वितरण
–सुरक्षित गर्भवतन सेवा
–इन्जेक्सन ड्रेसिङ्ग सेवा
–गर्भवती तथा सुत्केरी जाचँ सेवा
–नसर्ने रोगको उपचार तथा परामर्श सेवा 
–मानसिक रोगको उपचार तथा परामर्श सेवा 
–सरुवा रोग नियन्त्रण तथा रोकथाम सेवा
–प्रजनन् स्वास्थ्य रुग्णता सेवा
–विद्यालय स्वास्थ्य तथा पोषण सेवा 
–नवशिशु तथा बालरोगको एकिकृत व्यवस्थापन
–नवजात शिशु स्वागत तथा सुत्केरी सम्मान कार्यक्रम   
–मासिक आमा समूह बैठक तथा बहस पैरवी
–किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा 
–ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा 
–समुदायमा स्वास्थ्य जनचेतना तथा राष्ट्रिय कार्यक्रमहरु सञ्चालन 
–एम्बुलेन्स सेवा 

मसुरिया स्वास्थ्य चौकीको सेवा क्षेत्र गौरीगंगा नगरपालिका वडा नम्बर ९ हो । तर स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि छिमेकी वडाबाट समेत सर्वसाधारण उपचारका लागि पुग्ने गरेका छन् । स्वास्थ्य चौकीका अनुसार गौरीगंगाको वडा नम्बर ४, ५, ७, ८, १० र ११, घोडाघोडी नगरपालिकाको वडा नम्बर १५ आमखया र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ सालघारी गाउँका बासिन्दा पनि उपचार सेवा लिन आउने गर्छन् । मसुरिया स्वास्थ्य चौकीबाट गत वर्ष २० हजारभन्दा बढीले सेवा लिएका तथ्यांक छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै नौ हजार ८३५ जनाले सेवा लिएका छन् ।

 


मसुरिया स्वास्थ्य चौकीका तीन वटा भवन छन् । स्वास्थ्य चौकीस्तरमा हुनुपर्ने उपकरणहरु छन् । पूर्वाधार पर्याप्त भए पनि भवन घेरबार नहुँदा भने केही समस्या रहेको पन्तले बताए । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा नम्बर ९ का अध्यक्ष राजकुमार थारु स्वास्थ्यकर्मीको अथक मेहनत र स्थानीयको सहयोगले मसुरिया स्वास्थ्य चौकीले छोटो अवधिमै सेवा सुधारमा फड्को मारेको बताउँछन् ।

उनले मासिक रुपमा बस्ने व्यवस्थापन समितिको बैठकमा सेवाग्राहीका गुनासा के छन् र कसरी राम्रो सेवा दिने भनेर छलफल हुने गरेको बताए । व्यवस्थापन समितिका अनुसार विगतमा स्वास्थ्य स्वयम् सेविकालाई साइकिल पनि वितरण गरिएको थियो । कर्मचारीलाई पनि प्रोत्साहन गर्ने गरिएको अध्यक्ष थारुले बताए । ‘स्थानीय समुदायको सहयोग तथा कर्मचारीको मेहनत र लगनशीलताले मसुरिया उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको हो,’ उनले भने, ‘यसलाई कायम राखिराख्ने प्रयासमा छौँ ।’ 

प्रतिक्रिया