धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको कामका लागि आफू जेल जान पनि तयार रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको अर्धवार्षिक समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
‘जनताका कामका लागि जेल जान पर्छ भने पनि म तयार छु,’ उनले भने, ‘जनताका काम सहज रुपमा हुने वातावरण निर्माण गर्न सक्नुपर्छ । होइन भने विभिन्न किसिमका तर्क दिएर कार्यान्वयनलाई बल्झाउने काम कसैले नगर्दिनुहोला ।’
मुख्यमन्त्री शाहले आफूसंग कसैलाई काम गर्न असहज भए राजीनामा दिन पनि आग्रह गरेका छन् । ‘म मुख्यमन्त्री हुँदा मसंग मन्त्री र राज्यमन्त्रीज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ,’ उनले थपे, ‘कर्मचारीहरुलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ । तर सुशासन र डेलिभरी दिने कुरामा कसैसंग सम्झौता हुँदैन ।’
मुख्यमन्त्री शाहले प्रदेशसभा सदस्यहरुसंग बसेर अब बजेट कसरी बनाउने भन्ने विषयमा छलफल गर्ने बताए ।
सोमबार कञ्चनपुरको शुक्लाफाँटामा भएको समीक्षा गोष्ठीमा मन्त्रालयका सचिवहरूले आ–आफ्ना मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोग धनगढी कैलालीले गोष्ठी आयोजना गरेको हो ।
प्रतिक्रिया