धनगढी । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकास्थित दोधाराचाँदनी आधारभूत अस्पतालमा कार्यरत ल्याब टेक्निसियन हर्कबहादुर कुँवर अस्पतालमा उपचार गर्न आउने बिरामीको नमुना संकलन र परीक्षणमा दिनभर व्यस्त हुन्छन् । कुँवर नेतृत्वको टिमले प्रयोगशालामा नमुना जाँच गरेपछि दिने रिपोर्टका आधारमा डाक्टरले बिरामीको रोग पहिचान गर्छन् । रिपोर्ट हेरेर उपचार गर्छन् र औषधि दिन्छन् । त्यहाँ उपचार संभव नभए बिरामीलाई सुविधा सम्पन्न अस्पताल जान सुझाउँछन् ।
महाकाली पारीका बस्तीको एक्लो यो अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको सधैजसो भीड लाग्ने गर्छ । दैनिक सयदेखि डेढ सय बिरामी त्यहाँ पुग्छन् । रोग पहिचान र निदानका लागि रगत, दिसापिसाब लगायतको नमुना लिएर मधुमेह, मृगौला, क्षयरोग, थाइराइड, भिटामिन, मलेरिया, कुष्ठरोग, निमोनिया आदिको परीक्षण गर्नुपर्ने बिरामीको संख्या दैनिक ३५–४० हुन्छ । जुन परीक्षणको नेतृत्व ल्याब टेक्निसियन कुँवरले गर्छन् । कुँवरले दिने रिपोर्टका आधारमा डाक्टरले बिरामीलाई उसको रोग र उपचार बारेमा जानकारी गराउँछन् ।
स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीको नमुना संकलन गर्नु र संकलित नमुनालाई स्वास्थ्य उपकरणमा राखेर परीक्षण गर्नु २४ वर्षदेखि कुँवरको दैनिकीजस्तै बनेको छ । निरन्तरको मेहनत, लगनशीलता र पेशाप्रतिको इमान्दारिताले उनलाई आफ्नो पेशामा दक्षमात्र बनाएको छैन, उत्कृष्ट ल्याब टेक्निसियनको पहिचान पनि स्थापित गरेको छ । सेवा प्रवाहसँगै दोधाराचाँदनी अस्पतालको प्रयोगशाला सुधारमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । कुँवरको निरन्तरको प्रयासले प्रयोगशालामा नयाँनयाँ उपकरण थपिनुका साथै सेवा प्रवाहमा समेत आमुल परिवर्तन भएको छ ।
मध्यमवर्गीय परिवारका उनको लक्ष्य शिक्षक बन्ने थियो । त्यही भएर बैजनाथ मावि महेन्द्रनगरबाट २०५० सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले गणित विषय लिएर आइए पढे । महेन्द्रनगरकै सिद्धनाथ बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण गरेर उनी माथिल्लो तह भर्ना हुने तयारीमा थिए । त्यहीबेला मध्यवर्ती क्षेत्रमा लागू भएको एउटा परियोजनाअन्तर्गत कम्युनिटी हेल्थ वर्कर सम्बन्धी तालिम लिने मौका पाए । छ महिने तालिम लिएपछि भने उनको लक्ष्य फेरियो । तालिम सकिएलगत्तै उनले केही समय स्वास्थ्य सम्बन्धी एउटा परियोजनामा काम गरे । काम गर्दै जाँदा स्वास्थ्य क्षेत्र उनको आकर्षण बनिसकेको थियो ।
स्वास्थ्य क्षेत्रमै काम गर्ने लक्ष्य लिएर उनी ल्याब टेक्निसियन पढ्न धनगढीको सिआइसिडी भर्ना भए । ल्याब टेक्निसियनको पढाइ सकेकै वर्ष २०५७ सालमा कुँवरले तत्कालीन महाकाली अञ्चल अस्पतालमा ल्याब असिसटेन्टमा काम गर्ने अवसर प्राप्त गरे । विकास समितिको तर्फबाट उनी यो पदमा नियुक्त भएका थिए । त्यसबेला अस्पतालको ल्याबमा जनशक्ति र उपकरण निकै कम थियो । भएका उपकरणमा उनी उपचारका लागि आएका बिरामीका नमुना जाँच गर्थे । उनकै प्रयासमा ल्याबमा पछि केही उपकरण पनि थपिए ।
प्रयोगशाला स्थापनाको प्रयास
२०६० सालमा पहिलो पटक ल्याब असिसटेन्टमा लोकसेवा आयोगले विज्ञापन खोलेपछि कुँवरले पनि फाराम भरे । उनी पहिलो प्रयासमै पहिलो नम्बरमा नाम निकाल्न सफल भए । उनको पहिलो नियुक्ति तत्कालीन दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा भयो । जुन अहिले दोधाराचाँदनी आधारभूत अस्पतालको रुपमा स्तरोन्नति भएको छ । त्यसबेला प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशालानै थिएन । कुँवर गएपछि उनकै प्रयासमा ल्याब सेवा सुरु भएको थियो ।
‘नियुक्ति बुझेर दोधारा प्राथमिक स्वास्थ्य केन्द्र हाजिर हुन गएँ तर त्यहाँ ल्याब रहेनछ । बिरामीका लागि ल्याब सुविधा थिएन । स्थानीयबासिन्दाले ल्याब सेवा लिन महाकाली अञ्चल अस्पताल जानुपर्ने बाध्यता थियो,’ कुँवर सम्झिन्छन्, ‘जिल्ला तहसम्मको पहलले म गएको डेढ÷दुई महिनामै ल्याब सुविधा सुरु गर्न सफल भयौँ ।’ पाँच हजार रुपैयाँ लिएर भारतको बरेलीबाट सामान ल्याएपछि ल्याब सुरु गरेको उनी बताउँछन् ।
कुँवरका अनुसार त्यसबेला सुगर, युरिक एसिड, युरिया, टाइफाइडजस्ता सामान्य जाँचबाट ल्याब सेवा सुरु गरिएको थियो । त्यहाँ पाँच वर्ष सेवा गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरमा उनको सरुवा भयो । महाकाली अञ्चल अस्पतालभित्र रहेको जिल्ला जनस्वास्थ्यको ल्याब उनको कार्यक्षेत्र थियो । जहाँ उनले सेवाग्राहीको मलेरिया, टीभि र कुष्ठरोगको जाँच गर्थे । बिरामीलाई आफै औषधिसमेत वितरण गर्थे । कुष्ठरोगका बिरामीलाई प्रयोगशालामै बोलाएर नियमित औषधि खुवाउथे । उनले औषधिसम्बन्धी तालिम पनि लिएका थिए । त्यही क्रममा मलेरियाको औषधिले काम गरे/नगरेको बारे विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा उनी सहयोगी भएर पनि काम गरे ।
क्षयरोगमा गरेको कामले उत्कृष्ट कर्मचारीको सम्मान
कुँवरले प्रयोगशालामा कार्यरत रहँदा उत्कृष्ट काम गरेको भनेर सम्मान पनि पाए । राष्ट्रिय क्षयरोग निवारण केन्द्र ठिमीले सन् २०१६ मा उनलाई उत्कृष्ट कर्मचारीको रुपमा काठमाडौँमा सम्मान गरेको थियो । कुँवरले सन् २०१७ देखि मलेरिया रोगसम्बन्धि तालिमसमेत दिन थाले । यहाँ यो रोगसम्बन्धि तालिमको सुरुवात उनैले गरेका हुन् । कुँवर मलेरिया इन्टरनेशन कम्पीटेन्सी तालिम लिएर ‘ए’ लेभलमा छनोट भएका थिए ।
२०७७ सालमा उनको सरुवा पुनः दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा भयो । त्यो क्षेत्रमा क्षयरोगका बिरामी धेरै छन् भन्ने उनले बुझे । तर स्वास्थ्य केन्द्रमा क्षयरोगको सबै प्रकारको जाँच र उपचार सेवा थिएन । बिरामी उपचारका लागि महाकाली अस्पताल जान्थे । कुँवरले तीन वर्षको अवधिमा उपचारमा आएका क्षयरोगका बिरामीको तथ्यांक तयार पारे । जुन तथ्यांक बोकेर उनी क्षयरोगको जाँच र उपचार सेवा बढाउन नगरपालिकासहित सरोकारवाला निकायलाई घचघच्याए । दोधाराचाँदनी क्षेत्रमा टीभिका बिरामी धेरै भएकाले उच्च तहको परीक्षण गर्ने जीन एक्सपोर्ट मेसिन आवश्यक भएको भनेर उनले नगरपालिकामा आग्रह गरे ।
जिल्लामा रहँदा क्षयरोगको क्षेत्रमा काम गरेकाले कुँवरको सम्बन्ध राष्ट्रिय क्षयरोग निवारण केन्द्रसँग थियो । उनको प्रयासले गत असारमा अस्पताललाई क्षयरोग निवारण केन्द्रले जीन एक्सपोर्ट मेसिन दिएको छ । जसबाट हालसम्म दुई सय १० जनाभन्दा बढीले सेवा लिइसकेका छन् । दोधाराचाँदनी अस्पतालमा सामान्य खकारमात्र जाँच हुने गरेकोमा अब एमडिआर टीभिको उपचार सेवासमेत अहिले सुरु भएको कुँवर बताउँछन् । यो क्षेत्रमा टीभिका बिरामीको संख्या धेरै देखिएपछि क्षयरोग निवारण केन्द्रको सहकार्यमा गत वर्षबाट टीभिमुक्त बनाउने अभियान सुरु गरिएको छ ।
उनी पुनः चोदाधाराचाँदनी अस्पताल सरुवा भएर आएपछि प्रयोगशाला सेवा बढाउनु पर्छ भनेर पहल गरे । त्यसमा अस्पताल प्रमुख, व्यवस्थापन समिति र नगरपालिकाले सहयोग ग¥यो । जसले गर्दा अस्पतालमा परीक्षण सेवा विस्तार भएको छ । दोधाराचाँदनी अस्पतालमा अहिले कुष्ठरोगको छालाको जाँच हुन्छ । जुन परीक्षण सेवा महाकाली प्रादेशिक अस्पतालमा पनि छैन । यो जाँच कुँवरले गर्छन् । ‘सबैको प्रयासले प्रयोगशाला सेवा विस्तार गर्न सफल भएका छौँ, यहाँ अहिले आधारभूत अस्पतालमा हुनुपर्ने सबै जाँच सेवा छन्’ कुँवरले भने, ‘सामान्य जाँचका लागि बिरामीले अन्यत्र जानुपर्ने अवस्था अहिले छैन ।’
आफू आएपछि उपकरण थप गरेर सोडियम, पोटासियम, लिभर, किड्नी, बोसोको जाँच, सुगर प्रोफाइललगायत जाँच सेवा विस्तार भएको उनले बताए । गत वर्ष चैतबाट स्तरोन्नति गरिएको दोधाराचाँदनी आधारभूत अस्पतालमा अहिले अहिले ल्याबतर्फ अहिले एकजना सहयोगीसहित चारजना कार्यरत छन् । प्रयोगशालाको नेतृत्व कुँवरले गर्छन् । अस्पतालमा गैरसरकारी संस्थाबाट समेत गरी चार जना डाक्टर कार्यरत छन् । कुँवर भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा लागेपछि जहाँ काम गरेँ इमान्दारिताका साथ गरेँ । त्यसैले पनि होला विभिन्न संघसंस्थाहरुले सम्मान पनि गरेका छन् ।’
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरि रहेका प्रयोगशालामध्ये सबैभन्दा राम्रो सेवा दिइरहेको प्रयोगशाला दोधाराचाँदनी अस्पतालको हो । स्वास्थ्य कार्यालय प्रमुख ओमप्रकाश जोशी दोधाराचाँदनीमा प्रयोगशाला व्यवस्थापन र टीम परिचालन उदाहरणीय रहेको बताउँछन् ।
‘प्रयोगशाला जिल्लामा धेरै स्वास्थ्य संस्थामा छन् तर दोधाराचाँदनी जत्तिको प्रयोगशाला अन्यत्र छैन । सेवा प्रवाह पनि त्यहाँ राम्रो छ । उपकरण र संरचनामात्र भएरमात्र हुँदैन, व्यवस्थापन, टीम परिचालन राम्रो भएको छ’ जोशीले भने, ‘त्यसमा कुँवर सरको भूमिका महत्वपूर्ण छ ।’
जिल्ला जनस्वास्थ्य कार्यालयको माइक्रोस्कोपिक सेन्टरमा कार्यरत रहँदा पनि कुँवरले कार्यसम्पादन उत्कृष्ट रहेको उनी सम्झन्छन् । त्यहाँ रहँदा कुँवरले मलेरिया, टीभिको लामोलामो तालिम सञ्चालनको कुशलतापूर्वक नेतृत्व गरेको जोशी बताउँछन् । ‘उपचारात्मक सेवाको मुख्य ‘ब्याक बोन’ प्रयोगशाला सेवा हो । सही निदान हुन सकेमात्र सही उपचार हुन्छ’ स्वास्थ्य कार्यालय प्रमुख जोशीले भने, ‘बिरामीको रोग निदान र उपचारको अग्र भागमा स्वास्थ्यकर्मी देखिन्छन् । तर यो कार्यमा पर्दा पछाडि रहेर काम गर्ने कुँवर सरजस्तै प्राविधिकको भूमिका उत्तीकै महत्वपूर्ण हुन्छ ।’
प्रतिक्रिया