अमरगढी । डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन जारी छ । पुरातत्व विभागको टोलीले २३ दिनदेखि उक्त कोटको उत्खनन जारी राखेको हो ।
उत्खननका लागि गाउँपालिकाले ९० लाख विनियोजन गरेको थियो । अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए । पहिलोपटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको बताउँदै उनले कोटका कलाकृति र निर्माण शैली फरक भएको बताए ।
अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । उत्खनन्मा प्राप्त विवरणअनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन् । अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उनले बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरुकोट जस्ता ऐतिहासिक तथा पर्यटकीयस्थलको संरक्षण र प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए । उनले प्रदेश सरकार यस्ता कार्यक्रममा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
अजयमेरु कोट संरक्षणको महत्व अझ बढ्दै गएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए । अजयमेरुकोटको स्थापना १३औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ ।
एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । यद्यपि प्रमाणहरुले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएका छन् ।
अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।
अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई खोलाले घेरेको छ । तल खोलादेखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् ।
प्रतिक्रिया