धनगढी । धार्मिक र पर्यापर्यटनको अपार सम्भावना रहे पनि पूर्वाधारको अभावमा खप्तड राष्ट्रिय निकुञ्जले पर्यटक पाउन सकेको छैन । पर्यटकका लागि आधारभूत सुविधासमेत नभएकाले खप्तडमा पर्यटक आगमन अझै पातलो छ । तर, पछिल्लो समयमा खप्तडमा पर्यटकलाई आधारभूत सुविधा उपलब्ध गराउनका लागि धमाधम पूर्वाधार बन्न थालेको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अनुसार खप्तडमा एक सय ५० जना सम्मलाई खाना खुवाउन सक्ने होटल खुलिसकेको छ भने सो होटलमा ५० जनासम्म बास बस्न सक्ने सुविधा पनि तयार भएको छ ।
खाना र बासको सुविधा तयार भएसंगै आन्तरिक पर्यटक आगमन पनि बढ्न थालेको खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशीले बताए । उनका अनुसार अहिले खप्तडमा दैनिक १५ देखि २५ जनासम्म आन्तरिक पर्यटक पुग्न थालेका छन् । ‘एकदमै कम पर्यटक आएको दिन ५–६ जना हुन्छन्,’ कार्यकारी निर्देशक जोशीले भने, ‘प्रचारप्रसारको अभावमा विदेशी पर्यटक आएका छैनन् । आन्तरिक पर्यटकलाई समेत पर्याप्त सूचना पुगेको छैन ।’
विगतमा आउने पर्यटकहरुले खानेबस्ने समेत सुविधा नपाएर दुःख पाई फर्किने गरेकोमा त्यो अवस्था अब नरहेको खप्तडमा ५० बेडको होटल सञ्चालन गरिरहेका लोकबहादुर रावलले बताए । उनले खप्तड घुम्न आउने पर्यटकलाई खानबस्न कुनै समस्या नरहेको बताए । बाजुराको खप्तडछेडेदह गाउँपालिका–१, काँडा निवासी रावलले आफूले होटलमा पर्यटकको लागि स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खानाको व्यवस्था गरेको बताए । स्थानीय उत्पादन गहुँ, कोदो, मकै, तरकारी, दाल, चामल, दहि, दुध, घ्यूबाट बनेका अर्गानिक खानाको व्यवस्थापन गरिएको गरिएको रावलले बताए ।
उनले शौचालय, खानेपानी, उज्यालो र टेलिफोनको समस्या समेत समाधान भइसकेको बताउँदै आफूहरु खप्तडमा पर्यटकलाई स्वागत गर्न तयारी अवस्थामा रहेको बताए । उनले खप्तडमा आफूले चलाइरहेको गेष्ट हाउसमा ५० जनालाई बासको व्यवस्था रहेको बताए । उनले होटलमा पुग्नुभन्दा पहिले नै सम्पर्क गर्ने पर्यटकका लागि मागअनुसारकै परिकार तयार गर्नसक्ने गरी होटलको क्षमता विकास गरिएको बताए ।
राष्ट्रिय निकुञ्जको गेष्ट हाउसलाई भाडामा लिएर होटल सञ्चालन गरिरहेका रावलले खाना खाने र बनाउने टहरा बनाउन एकलाख ५० हजार रुपैयाँ खर्च गरेको बताए । यसबाहेक दाल, चामम, तरकारी, कर्मचारी राख्न सामान्य चालुखर्च भएको उनले बताए ।
आफूले धेरै लगानीमा होटल सञ्चालन गरेको भए पनि पर्याप्त संख्यामा पर्यटक आगमन नहुँदा होटल घाटामा सञ्चालन गरिरहेको रावलले बताए । ‘अहिले पयर्टक आगमन नभए पनि पछिसम्म पर्यटक आगमन बढ्छ,’ उनले भने, ‘यहीँ आशमा होटल चलाउँदै आएको छु ।’
उनका अनुसार नेपाली सेनाको व्यारेक छेउमा थप दुई वटा होटल पनि खुलेको बताए । होटलमा सोलार जडान गरी उज्यालो र मोबाइल चार्ज गर्ने व्यवस्था समेत गरिएको रावलले बताए ।
नेपाल पर्यटन बोर्डको पाँच करोड लगानीमा बन्न लागेको ८० बेड क्षमताको गेष्ट हाउस पनि अन्तिम चरणमा पुगेको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक जोशीले खप्तडमा बनिरहेको गेष्ट हाउसको ९५ प्रतिशत काम सम्पन्न भएको बताए । ‘खप्तडमा बनिरहेको गेष्ट हाउसको संरचना बनिसकेको छ,’ कार्यकारी निर्देशक जोशीले भने, ‘रंगरोगन र बेड राख्ने काम मात्रै छ ।’
सोही ठेक्काअन्तर्गत बिचपानीमा २० वेड क्षमताको गेष्ट हाउस तयार भएर पर्यटन बोर्डलाई हस्तान्तरण भइसकेको उनले बताए । खप्तडमा बनिरहेको गेष्ट हाउस गतवर्ष बजेट अभाव भएपछि सम्पन्न हुन नसकेको उनले बताए । यसवर्ष बजेट विनियोजन भइसकेको हुँदा यसै आर्थिक वर्षभित्र सम्पन्न गरी थप १०० बेडको गेष्ट हाउस थपिने उनले बताए । ‘१५० जना क्षमताको गेष्ट हाउस सञ्चालन भएपछि खप्तडमा आउने पर्यटकलाई खानबस्न लगायतको समस्या समाधान हुन्छ,’ उनले भने, ‘अहिले पर्यटक आगमन कम भएकाले ५० बेडकै गेष्ट हाउसले धानिरहेको छ । दशहरा मेलामा एकै पटक हजारौं पर्यटक आउँदा मात्रै बासको समस्या छ ।’
खप्तडमा सुविधासम्पन्न गेष्ट हाउस निर्माण गरी चाँडै हस्तान्तरण गर्ने तयारीमा रहेको गैराल निर्माण सेवा डोटीका सञ्चालक प्रेमबहादुर बिष्टले बताए । खप्तडमा रहेका होटलहरुले पर्यटकलाई बोकेर लगेको पानी खुवाइरहेको भए पनि खानेपानीको समस्या समाधान गर्नका लागि लिफ्ट खानेपानी योजनाको सर्भे भइरहेको कार्यकारी निर्देशक जोशीले बताए । हिउँ पगालेर जम्मा गरी खप्तडकमा पानी व्यवस्थापन भएको बताउँदै उनले यो खानेपानी यसै आर्थिक वर्षभित्रै सर्भेगरी निर्माण सुरु गरिने बताए । उनले मुहानको पानी तीन सय मिटर लिफ्ट गर्ने गरी पानी ल्याउन सर्भेभइरहेको बताए । ‘खानेपानी योजनाको लागत स्टिमेट र सर्भेको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘सबै काम समयमै भयो भने एक–दुई वर्षमा खानेपानीको समस्या पनि समाधान हुन्छ ।’
डोटीबाट खप्तड राष्ट्रिय निकुञ्जको गेटसम्म कालोपत्रे पुगीसकेको छ । केही घण्टाको दुरीमै बिचपानी भन्ने ठाउँ छ । त्यहाँबाट खप्तड पुग्न करिब तीन घण्टाको उकालो हिड्नुपर्छ । होटल बिचपानीका सञ्चालक हेमन्त बिष्टले बिचपानीसम्म सडक पुगेमा पर्यटक आगमन सहज हुने बताए ।
प्रतिक्रिया