धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब बस्ने प्रदेशसभा बैठकमा स्थायी रानधानीबारे प्रस्तावसहित जाने बताएका छन् ।
नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानी घोषणाको छ बर्ष बढी भइसक्दा पनि जग्गा नपाएको बताउँदै अबको बैठकमा प्रस्तावसहित जाने बताएका हुन् ।
‘अहिलेसम्म स्थायी राजधानी स्थापना नहुनुको कारण र विकल्पका विषयमा छलफल गर्नका लागि अब अब हुने संसदको बैठकमा प्रस्तावसहित जाँदैछु,’ मुख्यमन्त्री शाहले भने, ‘त्यसपछि प्रदेशसभामा उक्त विषयमा छलफल हुन्छ । त्यसका वैकल्पिक पाटाहरुका विषयमा छलफल गर्दा जहाँजहाँ सम्भावना छन् सबै ठाउँका विषयमा छलफल हुन्छ ।’
प्रदेशको स्थायी राजधानीबारे संघीय सरकार र प्रधानमन्त्रीलाई पटकपटक जानकारी गराइएको बताउँदै मुख्यमन्त्री शाहले संरचना निर्माणका लागि संघले अहिलेसम्म अनुमति नदिएको बताए । ‘सुदूरपश्चिम सरकारले त राजधानीसमेत बनाउन सकेन भन्ने परेको छ,’ उनले भने, ‘हामी कहिलेसम्म यस्तो अन्योलमा बस्ने ?’
०७५ असोज १२ मा पहिलो प्रदेशसभाको दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बरको वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । तर, प्रदेश सरकारले उक्त जग्गासमेत अहिलेसम्म प्राप्त गर्न सकेको छैन ।
प्रतिक्रिया