ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मुख्यमन्त्री शाह र पूर्वमन्त्री देउवाबीचको विवाद उत्कर्षतिर

बिहिबार ०८, फागुन २०८१ ०६:४३

धनगढी । चार दिनअघि, कञ्चनपुरमा प्रदेश सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रम भयो । कार्यक्रममा मुख्यमन्त्री, मन्त्री, सचिव, विभागीय प्रमुखसहित सिंगो प्रदेश सरकार उपस्थित थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाह विगतभन्दा फरक ढंगले प्रस्तुत भए । 

मुख्यमन्त्री शाहले त्यहाँ व्यक्त गरेका दुुई सन्दर्भ पृथक थिए । ‘मसँग काम गर्न मन्त्री र राज्यमन्त्रीज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ,’ उनले भनेका थिए, ‘कर्मचारीहरुलाई पनि असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ । तर सुशासन र डेलिभरी दिने कुरामा कसैसँग सम्झौता हुँदैन ।’ उनले व्यक्त गरेको दोस्रो सन्दर्भ थियो– ‘सरकारको निर्देशन र नीतिभन्दा बाहिर चियाउने, टाउको दायाँबायाँ घुमाउने काम कसैले नगर्नु ।’

दोस्रोपटक मुख्यमन्त्री भएका शाहले मन्त्री तथा आफू मातहतका उच्चपदस्थ कर्मचारीहरुलाई समेत कठोर निर्देशन गर्नुपर्ने अवस्था किन आइलाग्यो ? मुख्यमन्त्रीले कञ्चनपुर प्रकट गरेको भनाईपछि भित्रभित्रै राजनीतिक परकम्पहरु थपिदैँ गएका छन् ।  

मुख्यमन्त्री शाहले सम्भवतः पहिलोपटक सार्वजनिक रुपमा यतिधेरै आक्रोस मिश्रित अभिव्यक्ति दिएका हुन् । धेरैजसो प्रदेशसभा सदस्यको बुझाइमा पछिल्लो समय पूर्वमन्त्री प्रकाशबहादुर देउवा र मुख्यमन्त्री शाहबीचको मनमुटाव उत्कर्षमा पुुगेको छ । मुख्यमन्त्री शाहले कञ्चनपुरमा दिएको अभिव्यक्ति त्यसैको परिणाम हो । कर्मचारी र मन्त्रीहरुलाई इंगित गरे पनि मुख्यमन्त्री शाहले सुदूरपश्चिम कांग्रेसभित्र ‘पावर सेन्टर’का रुपमा मानिएका देउवालाई अप्रत्यक्ष रुपमा ‘धेरै चलखेल नगर्न’ संकेत गरेका हुन् ।     

यस परिस्थितिको पृष्ठभूमिमा गत साताको सोमबार लम्कीचुहा नगरपालिकामा आयोजित दुईवटा बेग्लाबेग्लै कार्यक्रमतर्फ फर्कनुपर्ने हुन्छ । जहाँ परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि थिइन् । ती कार्यक्रममा नियोजित रुपमा आफूमाथि हाकाहाकी अपमान गरिएको निष्कर्षमा मुख्यमन्त्री शाह छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार सांसद देउवा र लम्कीचुहाकी मेयर सुशीला शाहीको नियोजित षडयन्त्रमा आफूमाथि सार्वजनिक बेइज्जती गरिएको बुझाइमा मुख्यमन्त्री शाह छन् ।

त्यसदिन लम्की क्षेत्रमा मन्त्री आरजु राणा देउवालाई स्वागत गर्न पोलपोलमा तस्बिरसहितको पोस्टर झुण्ड्याइएको थियो । ती पोष्टर व्यानरहरुमा ‘परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य श्रद्धेय नेता माननीय डा. आरजु राणा देउवाज्यूलाई लम्कीचुहा नगरपालिकामा हार्दिक स्वागत गर्दछौं,’ लेखिएको थियो । ब्यानरमा मन्त्री राणासंगै लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको फोटो पनि थियो । 

त्यति मात्रै होइन, त्यहाँ उपस्थित कांग्रेस समर्थक युवाहरुले मन्त्री राणा लम्की पुग्दा ‘परराष्ट्र मन्त्री आरजु राणा देउवा जिन्दावाद, प्रकाश देउवा जिन्दावाद, मेयर सुशिला शाही जिन्दावाद’ का नारा लगाएका थिए । अझ, मन्त्री देउवाको घाँटी मालाले थेग्न सकिरहेको थिएन । तर पछाडी पछाडि लहसिदै गरेका मुख्यमन्त्री शाहको घाँटी भने रित्तो थियो । उनलाई माला लगाइदिने कोही थिएनन् । स्वागत गर्नु त टाढाको कुरा हो, उद्घाट कार्यक्रममा उनलाई बोल्न पनि दिइएको थिएन । जुन घटनालाई मुख्यमन्त्रीले आफ्नो ‘घोर अपमान’ गरिएको महसुस गरे ।

‘आफ्नै गृह क्षेत्रमा भएको अपमानका पछाडि मुख्यमन्त्री शाहले नियोजित रुपमा चालिएको राजनीतिक षडयन्त्र मानेका छन्,’ लम्कीका एक कांग्रेस कार्यकर्ताले भने, ‘त्यस घटनापछि मुख्यमन्त्री शाह वार कि पारको मुडमा पुगेका छन् ।’ 

कांग्रेसकै अर्का एकजना सांसदका अनुसार देउवा र मुख्यमन्त्री शाहबीच भित्रभित्र उत्पन्न विवादको अन्तर्य मुख्यमन्त्री आलोपालो गर्ने र कति समयपछि गर्ने भन्ने गुपचुप समझदारी हो । सोही कारणले उनीहरुलाई कठोर मनमुटावतर्फ उन्मुख गराइरहेको छ । तर दुबै नेता मुख्यमन्त्री हुने कुरा आफूहरुको चाहना र खेलमा निर्भर नहुनेमा भने सहमत छन् । ‘समझदारी आफ्नो ठाउँमा छ, तर मुख्यमन्त्री कहिले, कसलाई र किन बनाउने भन्ने कुरा बुढानिलकण्ठले गर्ने निर्णयको कुरा हो,’ दुबै नेताको एउटा आशय सुनिन्छ ।   

यसबारे मुख्यमन्त्री शाहले धेरै कुरा खोल्न मानेन् । तर पनि उनले आफूलाई  हतोत्साहीत गर्ने प्रयास भइरहेको सांकेतिक टिप्पणी गरे । 

यता, सांसद देउवाले पनि आफ्नै पार्टी नेतृत्वको सरकार भए पनि नेतृत्वसँग कार्यका आधारमा केही फरक मत रहेको स्वीकार गरेका छन् ।  ‘मुख्यमन्त्रीले मसँग त असहयोग गरेको कुरा भन्नु भएको छैन । तर बाहिरबाहिरबाट म माथि गुनासो गरिरहेको सुन्छु,’ सांसद देउवाले भने ‘मुख्यमन्त्रीले लम्कीको घटनामा मलाई जोड्नुको अर्थ छैन ।’

सांसद देउवा मुख्यमन्त्रीका कार्यशैलीअन्तर्गत केही कुराहरुमा आफू असहमत रहेको बताउँछन् । उनको सबैभन्दा धेरै असन्तुष्टि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सरकारका हरेक गतिविधिमा नसुहाउँदो ढंगले हावी भएकोप्रति छ । ‘हो, नेकपा एमाले सत्ताको प्रमुख साझेदार हो । उसका केही कुरा त मान्नै पर्छ र समन्वयमा काम गर्नुपर्ने हुन्छ,’ देउवाले भने, ‘तर संसदीय दलका नेता रावलले हरेक सन्दर्भहरुमा सरकारलाई ओभरल्यापिङ गरिरहेको सहन सकिदैन । कञ्चनपुरमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा समेत रावलले कुन हैसियतमा गएर सहभागी र मन्त्रीहरुलाई निर्देशन दिनुभयाे ? त्यस्ता नमिल्दा गतिविधि त कति छन् कति । सुदूपश्चिममा एमालेले सरकारको नेतृत्वलाई डोमिनेशन गर्दै जाने हो केन्द्रमा कांग्रेसले पनि प्रधानमन्त्रीलाई डोमिनेट गर्ने छ ? ।’ पूर्वमन्त्री देउवा एमाले संसदीय दलका नेताको मनपरीलाई मुख्मन्त्रीले निरीह बनेर चुपचाप सहन गर्दै जानु ठिक नभएको बताउँछन् ।

देउवा मुख्यमन्त्रीले बजेट निर्माणका आफैले गरेको ‘चार बुँदे’ प्रतिवद्धतामा अड्न नसकेकोमा पनि रुष्ट देखिन्छन् । कर्मचारी सरुवामा पनि देउवा खुसी थिएनन् । व्यापारीहरुका इन्ट्रेस्टलाई सहयोग पुग्ने गरी ढलापडा काठ व्यवस्थापन सम्बन्धि कानुनको कुरा ल्याएको, प्रज्ञा प्रतिष्ठानको ऐन संसोधनमा पनि मुख्यमन्त्री कुलपति रहने व्यवस्था हटाएर कुनै कार्यकर्ता भर्ती गर्ने प्रपञ्च गरिएको सांसद देउबाको प्रतिक्रिया छ । ‘सरकारमा कांग्रेसबाट सबैभन्दा सिनियर नेता मन्त्री छन्, मुख्यमन्त्री शाहका पछिल्लो अभिव्यक्ति आफूले कमाण्ड गर्न नसक्दाको फ्रस्टेशन हो भन्ने बुझेको छु,’ सांसद देउवाले भने, ‘गभर्मेन्ट लिड गरिसकेपछि अनेक कारणहरु देखाएर पन्छिन मिल्दैन ।’  

मुख्यमन्त्री शाह र सुदूरपश्चिममा प्रभावशाली देखिएका सांसद देउवाबीचको टकराव अझै उत्कर्षमा पुग्ने विपक्षी दलका एक सांसदको बुझाइ छ । ‘दुबै नेताका आ–आफ्ना स्वार्थ देखिएका छन् । प्रकाश देउवा अरुले गर्न सकेनन् भन्ने स्थापित गर्न चाहन्छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र चिराचिरा परेर आफै अस्तव्यस्त छ । त्यसैले अबका दिनमा देउवा समर्थक सांसदहरुले प्रदेशसभा बैठकमै सरकारविरुद्ध बोल्न थाले भने अचम्म नमाने हुन्छ,’ ती प्रदेशसभा सदस्यले भने । 
 

प्रतिक्रिया