धनगढी । सुदूरपश्चिम प्रदेशमा ५१ हजारभन्दा बढी जमिन बाँझो रहेको छ । कृषि उपकरण, मल, बीउ र सिंचाईको अभाव, जनशक्ति पलायन, बसाइसराई लगायतका कारण बाँझो जमिन बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशमा ५१ हजार दुई सय ७० हेक्टर जमिनमा खेती नभएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको हो ।
प्रदेशमा कुल कृषि योग्य जमिन तीन लाख ६९ हजार ७९६ हेक्टर छ भने तीन लाख १८ हजार ५२६ हेक्टरमा मात्रै कृषि भएको छ । निर्देशनालयका अनुसार कैलालीमा ९० हजार, कञ्चनपुरमा ५९ हजार ६०२ र अछाममा ५६ हजार ३४७ हेक्टर जमिन कृषि योग्य छ । चौथो नम्बरमा बाँझो जमिन छ ।
प्रदेशका नौ जिल्लामध्ये बाँकी जिल्लामा कृषि योग्य जमिन ३२ हजार हेक्टरभन्दा कम छ । डोटीमा तीस हजार २७६, डडेल्धुरामा ११ हजार ६१६, बैतडीमा ३१ हजार ४८५, बाजुरामा २४ हजार ३१९, बझाङमा ३४ हजार ६०७ र दार्चुलामा २९ हजार ५४४ हेक्टर जमिन कृषि योग्य छ ।
ती कृषि योग्य जमिनमध्ये सबैभन्दा बढी १३ हजार ९३४ हेक्टर जमिन अछाम जिल्लामा बाँझो छ । सबैभन्दा कम डडेल्धुरा जिल्लामा ९४९ हेक्टर जमिन बाँझो छ । तुलनात्मक रुपमा तराइभन्दा पहाडका जिल्लामा बढी जमिन बाँझो छोडिएको छ । सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक उपप्राध्यापक डा. राजेन्द्रवीर चन्दले पहाडी जिल्लाबाट हुने बसाइसराई, युवा जनशक्ति पलायन, सिंचाई, मल र बीउको उपलब्धता नहुँदा उत्पादकत्व कम हुनु लगायतका कारणले पहाडी जिल्लामा बढि जमीन बाँझो रहन भएको बताए ।
उनले कृषिमा गरेको मेहेनतले वर्षभरि काम गरी चार महिना मुस्किलले खान पुग्ने, स्थानीयस्तरमा अन्य रोजगारीको अवसर नहुने लगायतका कारण बसाई सर्नुका साथै जनशक्ति पलायन भएपछि जमिन बाँझो रहन गएको बताए । निर्देशनालयको तथ्यांकअनुसार दार्चुलामा छ हजार ७१९, बझाङमा छ हजार ३९३, बाजुरामा चार हजार १६४, बैतडीमा पाँच हजार ७८५ र डोटीमा छ हजार ७७६ हजार हेक्टर जमिन बाँझो छ भने सबैभन्दा बढी कृषि योग्य जमिन रहेको कैलालीमा तीन हजार ५५० र कञ्चनपुर तीन हजार हेक्टर जमिन बाँझो छ ।
उपप्राध्यापक डा. चन्दले तराइमा कृषि योग्य जमिन घडेरीका लागि होल्ड भएको बताए । प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले पनि जनशक्ति पलायन, बसाइसराई, कृषिबाट हुने आम्दानीले घर गुजारा नचल्नु, कृषिका लागि आवश्यक आधारभूत सुविधाको अभाव लगायतको कारणले जमिन बाँझो रहन गएको बताए ।
कृषि योग्य जमिन भ एपनि कृषि कार्य नगरिएको जमिनमध्ये कतिपय जमिन चरण क्षेत्र, निजी वन बनेको, पोखरी ताल रहेपछि त्यस्तो आधाभन्दा बढी जमीन बाँझो रहेको बताए । उनले कृषि गणना २०७८ ले सुदूरपश्चिम प्रदेशमा योभन्दा बढी जमीन बाँझो देखिएको बताए । कृषि गणनामा कृषक परिवारले सुदूरपश्चिम प्रदेशमा एक लाख ९२ हजार ८८५ हेक्टर जमिनमा कृषि गरिरहेको उल्लेख गरिएको छ । सोमध्ये एक लाख १६ हजार ५६४ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको उल्लेख छ ।
कुल कृषि योग्य जमिनमध्ये बाजुरा २८.८८, बझाङ्गमा ३३.७४, दार्चुलामा १७.८४, बैतडीमा १४.६३, डडेल्धुरामा ३२.३१, डोटीमा ३८.२४, अछाममा ३२.२८, कैलालीमा ८७.७४ र कञ्चनपुरमा ८९.२१ प्रतिशत जमीनमा सिंचाई सुविधा पुगेको कृषि गणना प्रतिवेदनमा उल्लेख छ ।
कृषि योग्य जमिन बाँझो हुन नदिन कृषिको उत्पादकत्व बढाउन कृषि यन्त्र, बीउ, बाह्रै महिना सिंचाई सुविधा, कृषकलाई सीप तालीम उपलब्ध गराउनुका साथै स्थानीयस्तरमा रोजगारीको व्यवस्था गर्नुपर्ने उपप्राध्यापक डा. चन्दले बताए । उनले यसका साथै पहाडी जिल्लाहरुमा पनि स्वास्थ्य, शिक्षा, रोजगारी, यातायात, विद्युत लगायत आधारभूत सेवाहरु गुणस्तरीय रुपमा उपलब्ध गराउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया