ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

साढे चार महिनाअघिको त्यो घटना, अझै सुल्झिएन

आइतबार ११, फागुन २०८१ १०:४९

धनगढी । बैतडी पञ्चेश्वर गाउँपालिका– २ डिम्मरकी १७ वर्षीया किशोरी बेपत्ता भएको साढे चार महिना पुगेको छ । २५ असोजमा बेपत्ता भएकी ती किशोरीको अवस्था अझै अज्ञात छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रहरी नायब उपरीक्षक मकेन्द्र बिष्ट बेपत्ता भएकै दिनदेखि खोजी कार्य भइरहे पनि किशोरीको अवस्था पत्ता लगाउन नसकिएको बताउँछन् । ‘हामीले उक्त घटनाको विभिन्न कोणले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘खोजी कार्य अहिले पनि जारी राखेका छौं । तर, किशोरीको अवस्था भने पत्ता लागेको छैन ।’

उक्त घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली पनि खटिएको थियो । करिब एक सातासम्म अनुसन्धान गर्दा पनि घटना नसुल्झिएपछि अहिले केन्द्रबाटै उक्त टोलीले घटनासँग सम्बन्धित तथ्य र प्रमाणका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तो छ घटनाक्रम 
दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो । उनीमाथि तीनै १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलारम पाण्डेका अनुसार ती किशोरी २५ गते बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन् । ‘एका बिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन् ।’

सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक पाण्डेको भनाई छ । ‘अनुसन्धानका लागि प्रहरी हवल्दार जोशीलाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘अहिले हवल्दार जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।’

प्रहरी निरीक्षक पाण्डेका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका थिए । यता हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूँले नपारेको बयान दिएका थिए ।

‘२५ गते बिहान पानी ल्याउन जाँदा ती किशोरीसंग मेरो भेट भएको थियो,’ प्रहरी निरीक्षक पाण्डेका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका थिए, ‘ती किशोरीले आफूँहरुको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सोही कारणले तनाब भएको बताएकी थिइन् । मैले आफूँ विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिए । त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन् । मेरो भेट भएको छैन ।’ 

प्रतिक्रिया