धनगढी । सुदूरपश्चिममा १० सिटमा जित निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । तीनमा नेपाली कांग्रेस र तीनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
विजयी हुनेमध्ये १२ जना संघीय संसदका लागि नयाँ छन् । रास्वपाबाट कैलाली १ मा विजयी कोमल ज्ञवाली, २ का केपी खनाल, ३ का जगतप्रसाद जोशी, ४ का खेमराज कोइराला, कञ्चनपुर १ का जनकसिंह धामी, २ का दीपक बोहरा, ३ का ज्ञानेन्द्र महता र बैतडीबाट विजयी हरिमोहन भण्डारीले पहिलोपटक संसदीय यात्रा गर्न थालेका हुन् ।
रास्वपाबाटै डडेल्धुराबाट विजयी डा. ताराप्रसाद जोशी पहिलो संघीय संसदका लागि नयाँ हुन् । यद्यपी उनीसंग सुदूरपश्चिम प्रदेशसभा सदस्य भइसकेको अनुभव भने छ । उनी एमालेमा छँदा २०७० सालमा कांग्रेसका शेरबहादुर देउवासंग संविधानसभा निर्वाचन लडेका थिए । तर, जोशी पराजित भएका थिए ।
यस्तै, बझाङबाट विजयी एमाले उम्मेदार ऐनबहादुर महर पनि संघीय संसदमा डेब्यु गर्दैछन् । दार्चुलाबाट विजयी एमालेकै गणेशसिंह ठगुन्ना र अछाम– २ का यज्ञहादुर बोगटी भने यसअघि पनि प्रतिनिधिसभा निर्वाचनमा विजयी भइसकेका छन् । अछाम– १ बाट विजयी कांग्रेसका भरतकुमार स्वाँर पनि पहिलोपटक संसद छिर्ने भएका छन् । उनी ०७४ सालमा प्रतिनिधिसभा निर्वाचन लडे पनि भीम रावलसंग पराजित भएका थिए । यसपटक उनै रावललाई हराएर स्वाँर विजयी भएका हुन् ।
डोटीबाट विजयी कांग्रेसका भरतबहादुर खड्कासंग संविधानसभा सदस्य र प्रदेशसभा सदस्य भइसकेको अनुभव छ । उनी ०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य र ०७४ सालमा निर्वाचित प्रदेशसभा सदस्य थिए । बाजुराबाट विजयी कांग्रेसका जनकराज गिरीसंग पनि संघीय संसदको अनुभव छ । उनी ०५६ सालको संसदीय निर्वाचनमा बाजुराबाट कांग्रेस उम्मेदवार बनेर विजयी भएका थिए ।
प्रतिक्रिया