ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम : उनासीमा जितेर यसपटक चुनाव लडेका सबै उम्मेदवार पराजित

सोमबार २५, फागुन २०८२ ०४:११

धनगढी । सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ मतगणना सम्पन्न भइसकेको छ । १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तीनमा नेपाली कांग्रेस र तीनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमबाट विजयी भएर चुनाव लडेका उम्मेदवार भने सबै पराजित भएका छन् ।

०७९ को प्रतिनिधिसभा जित्ने १५ मध्ये ११ जना यसपटक चुनावी मैदानमा थिएनन् । कैलाली १ कि रञ्जिता श्र्रेष्ठ, २ का अरुण चौधरी, ३ का गंगाराम चौधरी, ४ का बीरबहादुर बलायर र ५ नम्बर क्षेत्रका डिल्लीराज पन्त यसपटक चुनावी मैदानमा थिएनन् । यस्तै अघिल्लो निर्वाचन जितेका कञ्चनपुर ३ का रमेश लेखक, डडेल्धुरका शेरबहादुर देउवा, दार्चुलाका दिलेन्द्रप्रसाद बडू, बझाङका भानुभक्त जोशी, अछाम १ का शेरबहादुर कुँवर र बाजुराका बद्री पाण्डे पनि यसपटक उम्मेदवार भएनन् । 

तर, ०७९ सालको निर्वाचनमा विजयी भएर यसपटकको प्रतिनिधिसभा चुनाव लडेका पाँच जना उम्मेदवारले भने पराजय भोगेका छन् । चार जनालाई रास्वपाले बाटो छेक्यो भने एक जनालाई एमालेले हराएको छ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट ०७९ सालको निर्वाचन एमालेका तारा लामा तामाङले जितेका थिए । यसपटक उनले मुस्किलले जमानत जोगाउन सके । रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मतसहित विजयी हुँदा लामा आठ हजार ८८ मतसहित चौथो भए । कञ्चनपुर– २ मा ०७९ सालको निर्वाचन जितेका एनपी साउद यसपटक फराकिलो अन्तरले पराजित भए । उनलाई रास्वपाका दीपक बोहराले पराजित गरे । बोहराले ३३ हजार ९५२ मत पाउँदा साउदले १० हजार ८२७ मत मात्रै पाए । 

प्रेम आलेले पनि सांसद पद डिफेन्ड गर्न सकेनन् । उनी ०७९ सालको निर्वाचन डोटीमा एकीकृत समाजवादीबाट लडेर विजयी भएका थिए । यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्न उनी कैलाली– ५ झरे । रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी हुँदा आले सात हजार ८७६ मतसहित तेस्रो भए । ०७९ सालमा बैतडीबाट जितेका एमाले उम्मेदवार दामोदर भण्डारी पनि यसपटक पराजित भए । २२ हजार १३४ मतसहित रास्वपाका हरिमोहन भण्डारी विजयी हुँदा एमालेका भण्डारी भने १७ हजार ९१ मतसहित तेस्रो भए । यस्तै अछाम– २ बाट ०७९ सालको निर्वाचन जितेका कांग्रेसका पुष्पबहादुर शाह यसपटक झिनो मतले पराजित भए । उनलाई एमालेका यज्ञहादुर बोगटीले ४७२ मतले पराजित गरे । बोगटीले नौ हजार ५१८ मत पाउँदा शाहले नौ हजार ४६ मत पाए । 

 

प्रतिक्रिया