धनगढी । बाजुराको त्रिवेणी नगरपालिका कैलालीको धनगढीमा जारी कैलाली प्रिमियर लिगको सेमिफाइनलमा पुगेको छ । यस्तै धनगढी र परशुराम भने प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार फाप्ला मैदानमा भएको प्रतियोगिताको नवौं खेलमा डडेल्धुराको परशुराम नगरपालिकाविरुद्ध कैलालीको लम्की नगरपालिकाले जित निकालेको थियो । समूह डीअन्तर्गतको खेलकमा लम्कीले परशुरामलाई ११ रनले पराजित गर्यो ।
११६ रनको लक्ष्य पछ्याउने क्रममा परशुरामले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाउन मात्र सक्यो । उसका लागि मान साउँदे सर्वाधिक २७ रन बनाए । त्यस्तै किरन धामीले २२ रन बनाउँदा आयुस्मान शाहीले १७ रनको योगदान दिए । लम्कीलाई जित दिलाउन डम्मर माझीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका माझीले १२ रन खर्चर्दै ३ विकेट लिए । माझी म्यान अफ दी म्याच चुनिए । त्यस्तै ३.४ ओभर बलिङ गरेका कवि बमले १८ रन खर्चेर ३ विकेट नै लिए । सुरेश भण्डारीको नाममा २ विकेट रहँदा दिपक शाहीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लम्कीका लागि ओपनर ब्याटर कमल बिष्ट र अर्जुन साउँदले ४१ रनको साझेदारी गरे । बिष्टले ३४ रन बनाउँदा साउँदले १८ रन बनाए । १० ओभरमा मात्र १ विकेट गुमाएर ६८ रन बनाएको लम्कीले त्यसपछि भने लगातार विकेट गुमायो । उसका लागि रबिन भण्डारीले थप १८ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन । परशुरामका लागि किरन धामी र आयुस्मान शाहीले समान तीन–तीन विकेट लिए भने दिल बोहराले एक विकेट लिए ।
आजै भएको दोस्रो खेलमा धनगढी उपमहानगरपालिकालाई ८ विकेटले पराजित गर्दै त्रिवेणी नगरपालिकाले लगातार दोस्राे जित निकालेको छ । धनगढी उपमहानगरपालिकाले दिएको १०३ रनको झिनो लक्ष्य त्रिवेणीले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । त्रिवेणीलाई जित दिलाउन राजु रिजाल र संदिप मौरियाले अविजित शतकिय साझेदारी गरे । मौरिया ४१ रनमा अविजित रहे भने रिजाल ३८ रनमा अविजित रहे । धनगढी उपमहानगरपालिकाका लागि सुनिल दौल्याल र जनक नाथले समान एक– एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको धनगढी उपमहानगरपालिकाकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १०२ रन बनायो । धनगढीका लागि मनिस जोशीले सर्वाधिक ३८ रन बनाए । रोशन रावलले १६ रन बनाउँदा कप्तान आकाश बिष्टले १२ रनको योगदान दिए । त्रिवेणी नगरपालिकाका लागि दिपक टमाट्टा र विशाल आचार्यले समान दुई–दुई विकेट लिए भने रोशन अधिकारी र लोकेन्द्र चन्दले समान एक–एक विकेट हात पारे । साेमबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन । पहिलो खेल बिहान ९ः३० बजे भिमदत्त र लम्कीकाबीच हुनेछ । जसको विजेता टोली समूह डीको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ भने दिउँसो २ बजे लिग चरणको अन्तिम खेल धनगढी र बेदकोटबीच हुनेछ ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भइरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५– १५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २५ सय सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।
प्रतिक्रिया