धनगढी । विगत पाँच आर्थिक वर्षदेखि कैलालीमा भन्सार कार्यालयले निर्धारण गरेको राजश्य संकलनको लक्ष्य पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ देखि भन्सार कार्यालय कैलालीको राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको हो । चालु आर्थिक वर्षको सात महिनामा ७४.६६ प्रतिशत राजश्व संकलन भएको छ ।
भन्सार कार्यालय कैलालीको तथ्यांकअनुसार भन्सार महसुल एक अर्ब ७५ करोड २५ लाख ७० हजार, मुल्य अभिबृद्धि कर एक अर्ब ७२ करोड ५१ लाख तीन हजार, अन्त शुःल्क ११२ करोड ५० लाख २० हजार र अन्य कर एक अर्ब एक करोड १६ लाख नौं हजार गरी जम्मा चार अर्ब ६१ करोड ४३ लाख दुई हजार रुपैयाँ संकलन भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा भन्सार महसुल चार अर्ब ६७ करोड ९३ लाख ८० हजार, मुल्य अभिबृद्धि कर तीन अर्ब ९१ करोड ६० लाख ५८ हजार, अन्त शुःल्क २९ करोड ३० लाख एक हजार र अन्य कर दुई अर्ब २७ करोड ४१ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
बजारमा माग नभएकाले वस्तु आयात घटेको भन्सार कार्यालय कैलालीले जनाएको छ । भन्सार कार्यालयका अनुसार यो आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको भए पनि विगत सात महिनामा ४१.३४ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । भन्सार कार्यालयले साउनमा ६९.३३, भदौमा ५९.२८, असोजमा ७६.७५, कात्तिकमा ६९.८१, मंसिरमा ९३.५३, पुसमा ७२.३३ र माघमा ८२.१८ प्रतिशत राजश्व संकलन भएको छ ।
गतआर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म पाँच अर्ब ६२ करोड ४८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको भएपनि तीन अर्ब ६५ करोड ६१ लाख ५३ हजार रुपैयाँ (६५ प्रतिशत) मात्रै संकलन भएको थियो । आर्थिक वर्षको अन्त्यसम्म ११ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा आठ अर्ब २९ करोड ६३ लाख पाँच हजार (६७.४१ प्रतिशत) मात्रै राजश्व संकलन गर्न सफल भएको थियो ।
चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको ४१ प्रतिशत राजश्व संकलन भए पनि गतवर्षको तुलनामा राजश्व संकलन बढेको भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए । आर्थिक क्षेत्रमा संकुचन भएकोले विगत पाँच वर्षदेखि भन्सार राजश्व असुली निरन्तर ओरालो लागेको बताउँदै उनले यस आर्थिक वर्षमा राजश्व संकलन गरिएको रकम बढेको बताए ।
उनले विगतको तुलनामा राजश्व संकलन बढ्दै गएको बताउँदै लक्ष्य निर्धारण गर्दा अध्ययन नपुगेको बताए । उनले आर्थिक उत्पादन कति हुन्छ र कति आयात हुन्छ भन्ने कुराको अध्ययन नगरी लक्ष्य निर्धारण गर्दा राजश्व संकलन लक्ष्यमा पुग्न नसकेको बताए ।
ठूलो संख्यामा नागरिक गरीविको रेखामुनी रहेकोले आम्दानीको स्रोत उपभोगमै खर्च भइरहेकोले पनि आयातमा ह्रास आएको भन्सार प्रमुख तिम्सिनाले बताए । उनले चोरी पैठारीका कारण पनि भन्सारको लक्ष्यमा असर गरेको बताए ।
विभिन्न अध्ययनले भन्सारबाट आयात र चोरी पैठारी ५०/५० प्रतिशत रहेको देखाएको बताउँदै उनले चोरी पैठारी नियन्त्रण हुन सकेमात्रै अहिलेको भन्सार लक्ष्य पुरा हुन सक्ने बताए ।
प्रतिक्रिया