ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘धनगढीबाट जनताले गणतन्त्रविरुद्ध बिगुल फुकिसके, चैतमा काठमाडौंमा नतिजा देखिन्छ’

बुधबार १४, फागुन २०८१ ०८:०३

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका छन् ।

‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा बिगुल फुकेका छन् र यसको अन्तिम नतिजा चैतमा काठमाडौंमा देखिने छ,’ महामन्त्री राणाले राप्रपाले आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै मंगलबार भने ।

राप्रपाले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभा संचालन गर्ने र चैत महिनामा काठमाडौंकेन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ । यस पटकको आन्दोलन निर्णायक हुने पार्टीको दाबी छ ।

राप्रपाले नेपाली जनता, सेना र प्रहरी मार्ने मराउने काम नगर्ने प्रष्ट पार्दै शान्तिपूर्ण आन्दोलनबाट, जनताको बलबाट गणतन्त्र, संघीयता र धर्म निरपेक्षता खारेज गर्ने राणाले बताए । राजासहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य स्थापना गर्ने उनले बताए ।

पूर्वराजा ज्ञानेन्द्रबाट जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो । 

प्रतिक्रिया