ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कमलबजार विमानस्थलको पहिलो उडान नै अवरुद्ध

शुक्रबार १६, फागुन २०८१ ०३:२८

धनगढी । अछामको कमलबजार विमानस्थलको पहिलो उडान नै अवरुद्ध भएको छ । शुक्रबार विमानस्थलमा नियमित उडानको पहिलो जहाज अवतरण गर्ने तयारी गरिएको भए पनि अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण पहिलो उडान नै अवरुद्ध भएको बताइएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नियमित उडानको उद्घाटन गर्ने गरी तारा एयरले तयारी गरेको थियो । बिहीबार रातिदेखिको निरन्तरको झरीका कारण नियमित उडानको पहिलो उडान नै रोक्नु परेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

गत पुस १३ गते परीक्षण उडान सफल भएपश्चात् अछामको पूर्वी क्षेत्रमा रहेको कमलबजार विमानस्थललाई नियमित गराउने विषयमा पहल गरिएको थियो । लामो प्रयासपछि तारा एयरसँग उडानका विषयमा सहमति भएको थियो । जसअनुसार अछामको कमलबजारबाट नेपालगन्जको भाडा छ हजार पाँच सय र कमलबजारदेखि काठमाडौंको भाडा ११ हजारमा सहमति भएको नगर प्रमुख ढकालले बताए ।

उनका अनुसार कमलबजारदेखि नेपालगन्जसम्म तारा एयर तथा नेपालगन्जदेखि काठमाडौंसम्म श्रीएयरले सेवा दिने सहमति छ । उडान नियमित भएपछि हरेक हप्ताको आइतबार दिउँसो दुई बजे कमलबजार विमानस्थलबाट जहाज उडान हुनेछ । ०४९ सालमामा निर्माण गरिएको यस विमानस्थलमा दुईपटक परीक्षण सफल भइसक्दा पनि नियमित उडान गर्न सकिएको छैन ।
 

प्रतिक्रिया