बाजुरा । बाजुराको सर्वाधिक विकट बिच्छयाँका बासिन्दाहरुले फागुन २१ गते हुने प्रतिनिधि सभाका उम्मेदवारसंग सडक र फोन टावर बनाउन माग गरेका छन् ।
गाउँमा चुनावको प्रचार प्रसारमा आउने उम्मेदवार र राजनीतिक दललाई उनीहरु एकमत भएर प्रत्येक वडामा सडक र फोन टावर बनाउन माग गरिरहेको जनाएका छन् । हिमाली गाउँपालिका १, २ र ३ अर्थात साविकको बिच्छयाँ गाविसमा अहिलेसम्म सडकको पहुँचमा पुगेको छैन ।
बिच्छ्याँको नेटामा फोन टावर भएपनि त्यहाँबाट टाढाका गाउँ अहिले पनि टेलिफोनको पहुँच छैन। विगतदेखि उनीहरुले सडक र फोनको टावर माग मुख्य गरी राखेपनि दलहरुले पुरा गरेका छैनन् । यो पटक पनि सडक र फोन टावर माग गरिरहेको हिमाली गाउँपालिका वडा नं. ३ बौडीका ध्यानबहादुर रोकायाले बताए ।
बिच्छयाँले बाजुराको कुल भूगोलको ३५ प्रतिशत क्षेत्र ओगटेको छ । एउटा गाउँबाट अर्को गाँउ जान एकदिन भन्दा बढी समय लाग्ने गरेको छ । हुम्लाको सिमानासम्म अस्थायी सडक सञ्चालन भए पनि बिच्छयाँ कुनै गाउँ वडामा अहिलेसम्म सडकको पहुँच पुगेको छैन । ‘हाम्रो माग सडक हो,’ स्थानीय साजन बुडथापाले भने, ‘सडक नहुँदा धेरै दुःख पाइरहेका छौं ।’
हिमाली गाउँपालिका वडा नं. ३ गुम्बा गाउँ अहिल सम्म फोनको पहुँचमा छैन । स्थानीयले नोट भोट नो टावर भन्ने एजेण्डा उम्मेदवारसँग राखेका छन् । ‘हाम्रोमा टावर पनि छैन्,’ स्थानीय जगत लामाले भने, ‘भोट पनि नदिने भनेका छौं, गाउँमा यही विषयमा सल्लाह भइरहेको छ । हामीले “नोट भोट, नो टावर” भनेर अघि बढेका छौं । एक पटक सबै उम्मेदवारलाई फोन टावरका लागि कुरा राखेका छौं । हाम्रो गाउँमा सडक पुग्ने त अहिले सम्भाबना छैन । तर फोनको टावर बनाइदिन आग्रह गरेका छौं ।’
हिमाली गाउँपालिका १ मा ६७१ , २ मा ६५७ र ३ मा ५५१ मतदाता छन् । वडा नम्बर १ र ३ मा दुर्इ वटा मतदान केन्द्र र वडा नम्बर २ मा एक ठाउँमा मतदान केन्द्र कायम गरिएको छ । बिच्छयाँको गुम्बा गाउँ बाहेक सबै ठाउँमा भने विद्युतको पहुँच पुगेको छ । एक बर्ष पहिला मात्र कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले करिब १४ करोडमा बिच्छयाँमा बिजुली बालेको थियो ।
साविकको बिच्छयाँ गाबिस सडक, शिक्षा, स्वास्थ्य, सञ्चारबाट बिमुख भइरहेको छ । ‘यातायात भएको भए धेरै बिरामीले समयमै उपचार पाउँने थिए,’ वडा नम्बर ३ का वडा अध्यक्ष मंगलबहादुर बुढाले भने, ‘बाटोमै ज्यान समस्या अन्त्य हुन्थ्यो ।’
प्रतिक्रिया