काठमाडौँ । मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्नसमेत शनिबार एक एडभाइजरी जारी गर्दै आग्रह गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायल र इरानमा रहेका नेपालीहरूलाई त्यहाँका सम्बन्धित सरकारी तथा सुरक्षा निकायले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ।
नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, चनाखो रहन, आवश्यक सावधानी अपनाउन र आफू रहेको क्षेत्रका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाइएको छ । यसका साथै, स्थानीय अधिकारीको पूर्व स्वीकृति बिना कुनै पनि यात्रा नगर्न मन्त्रालयले सचेत गराएको छ।
यसैगरी, रोजगारी वा अन्य कुनै प्रयोजनका लागि इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकलाई दुवै देशको अवस्था सामान्य नभएसम्मका लागि आफ्नो यात्रा योजना तत्काल स्थगित गर्न मन्त्रालयले कडा सुझाव दिएको छ।
मध्यपूर्वका अन्य देशहरूमा बसोबास गर्ने तथा कार्यरत नेपालीहरूलाई पनि विकसित घटनाक्रमको निरन्तर निगरानी गर्न र सम्बन्धित देशका अधिकारीहरूले सुझाएका पूर्वसावधानीका उपायहरू अपनाउन आग्रह गरिएको छ।
कुनै पनि आपत्कालीन अवस्था आइपरेमा वा आवश्यक जानकारी तथा समन्वयका लागि मन्त्रालयले सम्पर्क विवरणहरूसमेत सार्वजनिक गरेको छ। नागरिकहरूलाई काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अविवस्थित नेपाली राजदूतावास र कतारको दोहास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रहन अनुरोध गरिएको छ।
प्रतिक्रिया