धनगढी । खगराज भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दल नेता बनाउन दिएको निर्देशन अलपत्र परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छ पटक खगराजलाई दल नेता बनाउन दिएको निर्देशन सुदूरपश्चिमका सांसदले कार्यान्वयन नगरेका हुन् ।
पछिल्लोपटक उनले आफू कैलाली पुग्नुभन्दाअघि नै खगराजलाई दल नेता बनाउन निर्देशन दिएका थिए । ‘म २० गते कैलालीको टीकापुरमा आइरहेको छु,’ प्रचण्डले बुधबार सुदूरपश्चिम माओवादीका सबै सांसदलाई निजी निवासमा बोलाएर भनेका थिए, ‘मैले कैलाली पुग्नुभन्दा अगाडि नै दल नेता फेर्ने मेरो निर्देशन कार्यान्वयन हुनुपर्छ । धेरै दायाबाँया मलाई थाहा छैन ।’
मंगलबार बिहान थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न प्रचण्ड कैलालीको टीकापुर पुगेका छन् । तर, प्रचण्डको उक्त निर्देशन पनि कार्यान्वयन गर्न संसदीय दलको बैठकसमेत नबसेको हो ।
माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलभित्र एक वर्षदेखि विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि दलभित्रको विवाद सतहमा आएको थियो ।
संसदीय दलका नेता धामीसहित प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी माल खगराजलाई नेता बनाउन तयार नभएका हुन् । उनीहरुले पार्टीको प्रदेश इञ्चार्ज रहेका उपमहासचिव गिरिराजमणि पोख्रेललाई हटाएर आफ्नो पक्षका नेताहरुलाई इञ्चार्ज बनाएपछि मात्रै दल नेता खगराजलाई बनाउने बताएका छन् ।
प्रतिक्रिया