टीकापुर । हिन्दीमा एउटा मुहावरा छ, ‘दो दिनकी चाँदनी फिर अँधेरी रात’ । कैलालीको टीकापुर विमानस्थलको अवस्था पनि यस्तै होला जस्तो भएको छ । निकै तामझामका साथ पुर्नसञ्चालन गरिएको विमानस्थल फेरि बन्द हुने संकेत देखिएको छ ।
०८१ मंसिर ३० गतेबाट व्यवसायीक उडान थालेको तारा एअरले सातामा तीन दिनसम्म उडान भर्यो । सातामा तीन दिन जहाज चलेपछि टीकापुरबासीको खुसीको सीमा नै रहेन ।
तर यो खुसी तीन महिनामै घट्ने अवस्थामा पुगेको छ । तारा एअरले अब ०८१ फागुन २६ गतेदेखि सातामा एकदिन मात्रै जहाज उडाउन सकिने भन्दै पत्राचार गरेको छ ।
उसले ०८१ फागुन १९ गते टीकापुर नगरपालिकालाई एक पत्र पठाएर साताको सोमबार मात्रै उडान भर्न सकिने जानकारी दिएको छ । पत्रमा दुई पक्षबीच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नम्बर १ अनुुसार मार्च महिनादेखि जहाज नेपालगञ्ज बेस नहुने भएकाले उडान संख्या घटाउनु परेको उल्लेख छ ।
तारा एअरले नेपालगञ्ज–टीकापुर–नेपालगञ्ज मात्रै उडान सञ्चालन गरिने व्यहोरा सबैमा जानकारीका लागि नगरपालिकालाई अनुरोध गरेको छ । ०८१ कात्तिक १२ गते नेपाल वायु सेवाको जहाजले परीक्षण उडान भरेपछि तारा एअरले ०८१ मंसिर ३० गतेबाट नियमित उडान थालेको हो । परीक्षण उडानकै दिन समेत तारा एअरको जहाजले उडान भरेको थियो ।
टीकापुर नगरपालिकाले १५ सिट बराबरको ग्यारेन्टी गरेपछि तारा एअरले व्यवसायीक उडान सुरु गरेको थियो । नगरपालिकाले खाली रहेका प्रति सिट साढे आठ हजार रुपैयाँका दरले तारा एअरलाई रकम बुझाउने सम्झौता गरेको बताइएको छ ।
तारा एअरले टीकापुरबाट यात्रु बोकेर नेपालगञ्ज झाथ्र्यो । नगरपालिका र तारा एअरबीच भएको सम्झौताअनुसार टीकापुरबाट तारा एअरले बोकेर लगेका यात्रुलाई यति एअरले काठमाडौं लैजाने गर्दै आएको छ । तारा एअरले यही विमानस्थलमा ०७१ सालमा परीक्षण उडान भरेको थियो । उसले व्यवसायीक उडान भर्ने उद्देश्यले त्यतिबेला परीक्षण उडान भरेको भए पनि निरन्तरता दिन सकेको थिएन ।
२०४२ सालमा स्थापना भएको विमानस्थल २०५४ देखि बन्द अवस्थामा रहेको छ । विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ । पछिल्लो समय नगर प्रमुख रामलाल डगौरा थारुले विमानस्थल पुर्नसञ्चालनलाई एकल एजेण्डा बनाएका थिए । उनले विमानस्थल पुर्नसञ्चालनका नाममा नगरपालिकाको लाखौं रुपैयाँ खर्चसमेत गरेका छन् ।
परीक्षण उडानको दिनमा विमानस्थल भित्रै बाजागाजा सहित ठुलो कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा विभिन्न गाउँबाट आएका साँस्कृतिक टोलीले झाँकी प्रस्तुत गर्नुका साथै राजनीतिक दलका नेताहरुले भाषण गरेका थिए ।
प्रतिक्रिया