धनगढी । सुदूरपश्चिम प्रदेश सरकारप्रति गाउँपालिका महासंघ रुष्ट देखिएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिमले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ताकेतासहित लिखित रुपमै पत्र बुझाएको छ ।
महासंघले प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गर्न, स्थानीय सेवा ऐन तत्काल जारी गर्न, २५ लाखभन्दा कमका आयोजना सम्बन्धित स्थानीय सरकारमार्फत कार्यान्वयन गर्ने निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारलाई ताकेता गरेको छ ।
यस्तै समन्वय परिषद् बैठक राख्न पनि माग गरिएको महासंघका प्रदेश अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए । मुख्यमन्त्रीलाई दिएको लिखित पत्रमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध तथा समन्वय) ऐन, २०७७ बमोजिमको प्रदेश समन्वय परिषदको बैठक लामो समयदेखि हुन नसकेकोले तत्काल बैठकको आव्हान गर्न भनेको अध्यक्ष शाहीले बताए ।
यस्तै, स्थानीय सेवा ऐन हालसम्म पनि सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन नसकेको भन्दै आपत्ति जनाइएको छ ।
प्रतिक्रिया