ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘सीप आर्जन गर्ने थलो बनेको छ सीप मेला’

शुक्रबार २३, फागुन २०८१ ०५:०६

धनगढी । कैलालीको धनगढी उपमहानपालिका–५ की आयुशा वाग्लेको दैनिकी घरायसी काममै बित्ने गरेको थियो । सीप सिकेर आत्मनिर्भर बन्ने इच्छा भए पनि त्यस्तो अवसर पाएकी थिइनन् उनले । सोही क्रममा धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला आयोजना गर्ने र इच्छुकलाई आवेदन दिन आह्वान गरेको सूचना वाग्लेसम्म पुग्यो । 

निशुल्क तालिमका लागि वाग्लेले पनि आवेदन दिइन् र छनोटमा परेपछि अहिले निःशुल्क तालिम लिइरहेकी छिन् । एडभान्स ब्युटिसियनको तालिम लिइरहेकी तालिम निकै प्रभावकारी भइरहेको सुनाइन् । ‘हामी जस्तो गृहणीलाई जागिर गर्न गाह्रो हुन्छ,’ उनले भनिन्, ब्युटिसियन सम्बन्धि काम गर्ने इच्छा थियो । त्यो इच्छा उपमहानगरपालिकाले सीप मेला सञ्चालन गरेर पूरा गरिदिएको छ ।’ एडभान्स ब्युटिसियनअन्तर्गत नेल र मेकअपको तालिम लिइरहेकी उनले अब आत्मनिर्भर बन्ने जागर बढेको बताइन् । 

धनगढीकै सिताकुमारी कुँवर पनि सीप तथा रोजगार मेलामा भेटिइन् । ‘हेयर कटिङ र हेयर डिजाइनिङ सम्बन्धी तालिम लिइरहेकी छु,’ कुँवरले भनिन्, ‘रोजगार मेलामा सिकेका कुराहरु अरुलाई पनि सिकाउने योजना छ ।’ 

डोटीका सुवास बोहरा पनि लेखा व्यवस्थापनसम्बन्धी तालिम लिइरहेका छन् । बोहराले सैद्धान्तिक रुपमा सिकेका कुराहरुलाई प्रयोगात्मक कक्षाको माध्यमबाट सिक्ने अवसर प्राप्त भएको बताए । सीप सिकेपछि स्वरोजगार हुने आशा बोहरामा बढेको छ । 

वाग्ले, कुँवर र बोहरा जस्तै अहिले सुदूरपश्चिमका एक हजार ४० युवाहरुले सीप तथा रोजगार मेलामा निःशुल्क तालिम लिने अवसर पाएका छन् । मेलाको अवलोकनका लागि पुगेका सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. पदमराज जोशीले धनगढीमा कल्पनासम्म गर्न नसकिएको मेला आयोजना भएको बताए । ‘सबै किसिमका सीपलाई समेटेर मेला आयोजना गरिएको छ,’ उनले भने, ‘सीप तथा रोजगार मेला सीप आर्जन गर्ने थलो बनेको छ । यसलाई निरन्तरता दिन आवश्यक छ ।’ सीपलाई अर्निङ र लर्निङसंग जोड्न आवश्यक रहेको जोशीले बताए । 

होटल व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष कलम बमले सीप मेला निकै प्रभावकारी देखिएको बताए । ‘सीप मेलामा सबै किसिमका तालिम सञ्चालन गरिएको छ,’ उनले भने, ‘यस्ता मेलाले दक्ष जनशक्ति उत्पादनमा निकै टेवा पुग्ने विश्वास लिएको छु ।’

सीप तथा रोजगार मेला आयोजना गरेको धनगढी उपमहानगरपालिकाले सीप सिकाएर युवाहरुलाई स्वरोजगार बनाउने मेलाको मुख्य उद्येश्य रहेको जनाएको छ । मेलापछि पाँच दिनको उद्यमशीलता तालिम तथा दुई दिने रोजगारदाता सम्मेलन गर्ने योजना उपमहानगरको छ । । धनगढी उपमहानगरपालिकाको आयोजनामा ८ फागुनदेखि सञ्चालन भइरहेको मेला एक महिनासम्म सञ्चालन हुने छ । मेलामा २९ विधामा तालिम चलिरहेको छ । 

मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, पुरोहित, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन, सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम निःशुल्क प्रदान भइरहेको छ । 

प्रतिक्रिया