धनगढी । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने बताएका छन् । संघीय राजधानी काठमाडौंमा राजावादीहरूले आइतबार गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्ने बताएका हुन् ।
‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हुन सक्छ,’ कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा नेता साउदले भने ।
उनले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध भने नगरेको स्पष्ट पार्दै प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई संविधानले जहिले पनि अंगिकार गर्दै आएको स्मरण गरे ।
उनले संसद्मा रहेका कम्युनिस्ट र सडकमा रहेका राजावादीबाट जुनसुकै बेलामा पनि प्रजातन्त्रमाथि प्रहार हुन सक्ने भन्दै कांग्रेस सहज रहनुपर्नेम जोड दिए ।
‘आज मुलुकको अवस्था जटिल छ । संसद्भित्रै हेर्ने हो भने कम्युनिस्टहरूको दुईतिहाइ संख्या छ । सडकमा हेर्ने हो भने हिजो जनआन्दोलनको प्रक्रियाबाट हामीले इतिहासको भग्नावशेषमा सुताइसकेकाहरू पनि ब्युँतिन खोज्दै छन्,’ साउदले भने, ‘त्यसकारण यी शक्तिहरूबाट जनुसुकै बेलामा पनि प्रजातन्त्रलाई, प्राजतान्त्रिक संविधानलाई, नेपाली जनताका उपलब्धि र आकांक्षालाई प्रहार हुन सक्ने भएकाले नेपाली कांग्रेस जहिले पनि सजग, सचेत, चनाखो रहनुपर्ने आवश्यकता छ ।’
संविधान, संवैधानिक प्रक्रिया र नेपाली जनताले संघर्ष गरेर ल्याएको प्रजातन्त्र÷गणतन्त्रविरुद्ध कुनै शक्ति जुर्मुराउन खोजे त्यसलाई परास्त गर्न कांगे्रस अगाडि आउने पनि साउदले बताए ।
प्रतिक्रिया