धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशले संघीयताको महसुस गर्ने वातावरण अझै बन्न नसकेको बताएका छन् । गेटा विमानस्थलमा निर्मित आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रदेशले महसुस गर्ने गरी अधिकार विकेन्द्रीकरण हुन नसकेको बताए ।
‘संघीय संरचनामा गइसकेपछि एकैचोटी सबै जिच हामीले चाहेजस्तो नहोला, अधिकार पनि त्यो अनुसारले विकेन्द्रीत नहोला, समय लाग्ला’ कार्यक्रममा सहभागी गृहमन्त्री रमेश लेखकसमक्ष मुख्यमन्त्री शाहले भने, ‘तर हामीले महसुस त गर्नु प¥यो नि । महसुस गर्ने वातावरण बनाउने कि नबनाउने । त्यो दिशामा हामीले हाम्रा कामहरु गर्ने की नगर्ने ? आज गम्भीर प्रश्न छ ।’
प्रदेशभित्र रहेका हरेक संरचनाले प्रदेश सरकारलाई चिन्नु पर्ने उनले बताए । तर प्रदेशभित्र रहेका निकायहरुले प्रदेश सरकारसँग समन्वय नगरेको मुख्यमन्त्री शाहको भनाइ थियो । प्रदेश सरकार र मुख्यमन्त्रीसँग रातदिन अन्योन्याश्रित सम्बन्ध हुनुपर्ने निकायहरुको भूमिकामाथि पनि मुख्यमन्त्रीले प्रश्न उठाए ।
उनले भने, ‘सरकार छ, सरकारका मुख्यमन्त्री छ । सरकारका निकाय छन् त्योसँग रातदिनै अन्योन्याश्रित सम्बन्ध हुनुपर्ने विभिन्न निकाय छन् । ती निकायहरुको भूमिका खै, जिम्मेवारी खै ?’ संघीयता कार्यान्वयनमा संघीय नेतृत्वप्रति शंका नरहेको तर कतिपय व्यक्तिबाट त्यस्ता गतिविधि भएको उनको भनाइ थियो ।
‘संघीयता कार्यान्वयनका क्रममा हामीले कसैप्रति संका गर्नु पर्दैन, विशेषगरी केन्द्रीय नेतृत्वप्रति’ मुख्यमन्त्री शाहले भने, ‘तर गतिविधि यस्ता पाएको छु मैले, जसले यो संघीयता बुझेको छैन अथवा बुझ पचाएको छ । अथवा संघीयताका संरचनालाई स्वीकार नै गरेको छैन ।’
नागरिक उड्ययन प्राधिकरणले प्रदेश सरकारलाई गोदामघर हस्तान्तरण कार्यक्रममा आफूलाई आमन्त्रण नगरेकोमा पनि असन्तुष्टि जनाए । गृहमन्त्री सहभागी भएकाले आफू कार्यक्रममा आएको उनले बताए । ‘प्राधिकरणका साथीहरुले पत्राचार गर्नु भएको छ, त्यो पत्रमा तपाइले न अध्यक्षताको कुरा गर्नु भएको छ, न अथितिको । जानकारी र व्यवस्थापनमात्रै भन्नु भएको छ’ उनले भने, ‘प्रदेशको मुख्यमन्त्री के हो ? व्यक्ति हो अथवा संस्था हो ।’
गत वर्ष बझाङमा भूकम्पपीडितलाई राहत वितरण गर्दा संघीय सरकारले प्रदेशलाई समन्वय नगरेको उनले बताए । ‘पोहोरसाल भूकम्प गएको तेस्रो दिन म बझाङ पुगेको थिएँ । राहत वितरण गर्न पनि गएको थिएन । केही समयपछि राहत वितरणमा होडबाजी चल्यो । संघीय सरकारका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद सारा उर्लिनु भयो । राहतको एउटाएउटा पोको हस्तान्तरण गर्नु भयो’ मुख्यमन्त्री शाहले भने, ‘त्यसले के सन्देश दिन्छ । राहत वितरणका सन्दर्भमा हामीले एकीकृत प्रणाली विकास गर्ने कि नगर्ने ? हामीले त्यो संरसचना, संस्थालाई बलियो बनाउने की नबनाउने ? मलाइ त्यतिबेला दुख लागेको थियो ।’
मुख्यमन्त्री शाहले संघीय सरकारको निर्देशन, सुझाव सल्लाहअनुसार नै प्रदेश सरकार अगाडि बढ्ने बताए । प्रदेशले केही कामको कुरा सुरुवात गरेको उल्लेख गर्दै त्यसमा संघीय सरकारको पनि सहयोग आवश्यक रहेको उनको बताए ।
प्रतिक्रिया