राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले निर्वाचन आयोगविरुद्धको मुद्दा जितेकी छन् । सर्वोच्च अदालतले मंगलबार कार्कीको पक्षमा फैसला गरेको हो । योसँगै तोसिमाको सांसद पद जोगिएको छ ।
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी कार्कीले मेडिकल काउन्सिल सदस्य पदबाट राजीनामा दिएकी थिइनन् । मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी जोगिएको थियो । पछि उनले कानुन व्यवसायीको सल्लाहमा मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन् । मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन् ।
आयोगले त्यस निवेदनउपर कुनै सुनुवाइ नगरी आफूविरुद्धको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् । सोही मुद्दामा मंगलबार कार्कीका पक्षमा फैसला भएको हो ।
प्रतिक्रिया