ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जब कैलाली सिडिओको टोली नागरिकता दिन सेवाग्राहीको घरमै पुग्यो...

मङ्गलबार ०५, चैत २०८१ ११:२१

धनगढी । उमेर ३७ वर्ष भए पनि पूर्ण अपाङ्गता भएकी छोरी अरुणाको नागरिकता बन्ने आश मारिसकेका थिए, कैलालीको गोदावरी नगरपालिका ८ जमुनाभाणीका जीतबहादुर चाैधरीले । छोरी अरुणा बोलचाल, उठ्वस्, हिँडडुल गर्न सक्दिनन् । आमाबाबुले नै उठाएर भित्रबाहिर गर्नुपर्छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय पुर्‍याएर नागरिकता प्राप्त गर्ने उपाय जीतबहादुरसँग थिएन् । उनै अरुणालाई जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित प्रशासकीय अधिकृत शिवराज जोशी र खरिदार तेजबहादुर पार्कीले मंगलबार विहान घरमै पुगेर नागरिकता प्रदान गर्दा जीतबहादुरको परिवार निकै खुसी भए ।

प्रजिअ हमालसहित अधिकृतहरुले घरमै पुगेर अरुणाको हातमा नागरिकता थमाउँदा उनी रोएजस्तै गरि जोडजोडले कराइन् । छेउमा रहेकी उनकी आमा छोटकनियाले भनिन्, ‘खुसी भयो भने यस्तो गर्छ ।’ प्रमुख जिल्ला अधिकारीको टोली घरमै नागरिकता दिन आएकोमा आफूहरुलाई निकै खुसी लागेको जीतबहादुरले बताए ।

छोरीको नागरिकता बनाउने उपाय उनीहरुसंग थिएन । नागरिकता बनाउनका लागि छोरीलाई उठाएर जिल्ला प्रशासन कार्यालय पुर्‍याउने उपाय र सम्भावना आमाबाबुसँग थिएन । जीतबहादुर केही दिनअघि आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जिल्ला प्रशासन कार्यालय गएका थिए । त्यही बेला उनले प्रशासनका अधिकृतहरुलाई आफ्नी छोरीको समस्या सुनाए ।

त्यसपछि प्रशासनको टोलीले घरमै पुगेर अरुणालाई नागरिकता दिने निर्णय गरेको थियो । ‘जिल्ला प्रशासनबाट हुने कामहरुमा सकेसम्म नागरिकहरुलाई सजिलो गर्नुपर्छ । हाम्रो सानो प्रयासले कुनै नागरिकलाई सहजीकरण हुन्छ भने अग्रसर हुनुपर्छ भन्ने लाग्छ,’ प्रमुख जिल्ला अधिकारी हमालले भने, ‘नागरिकको सेवाका लागि त हामी बसेका छौं । कानुनसम्मत सन्दर्भहरुमा हामीले सकेसम्म नागरिकका घरदैलोमा पुगेर सेवा प्रदान गर्न सहजिकरण गर्नुपर्छ भन्ने लाग्छ ।’

गोदावरी नगरपालिका- ८ का वडाध्यक्ष गोबिन्द चौधरीले प्रशासनको टोली अशक्त एवं अपाङता भएका नागरिकलाई घरमै आएर नागरिकता प्रदान गरेकोमा खुसी लागेको बताए । पाँच महिनाको उमेर हुँदा विरामी परेकि अरुणाले पूर्ण अपाङ्गता झेलिरहेकि छिन् । दिनरात एउटा खाटमाथि पल्टिन बाध्य अरुणाका आमाबाबुले उठाएर भित्रबाहिर गर्नुपर्ने बाध्यता छ ।

बुवा जीतबहादुरले अरुणा पाँच/छ महिनाको उमेर हुँदा एक्कासी विरामी परेको र त्यसपछि पूर्ण रुपमा अपाङता भएको बताए । सबै स्याहार आमाबाबुले गर्छन् । ‘भोक लाग्यो भने कराउछिन्, केही भन्ने पर्यो भने उनी खाटमै कराउँछिन्,’ आमा छोटकनियाले भनिन्, ‘उसले कराएपछि के भन्न खोजेकि हो भन्ने हामीलाई थाहा भइहाल्छ ।’ खेती किसानी गर्दै आएका जीतबहादुरका चार छोरीमध्ये अरुणा माइली हुन् । तीन छोरा आआफ्नै व्यवसाय गरिरहेका छन् ।

प्रतिक्रिया