ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्रीसंग भेटमा देउवाले भने- कांग्रेसका उम्मेदवार जिताउनू

बुधबार २८, माघ २०८२ ०२:२१

धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट्दै देउवाले यस्तो निर्देशन दिएका हुन् ।

बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा देउवाले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेताकार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताएको मुख्यमन्त्री शाहले बताए । `नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न निर्देशन दिनुभएको छ,´ मुख्यमन्त्री शाहले भने ।

प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पनि देउवाले मुख्यमन्त्री शाहलाई आग्रह गरेका थिए । स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता रहेकोमा उनले जोड दिएका थिए ।

सो अवसरमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भएको थियो । भेटका क्रममा सभापति देउवा र डा. राणा देउवाले मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

प्रतिक्रिया