धनगढी । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बीपी कांग्रेसले डडेल्धुरामा कर्णबहादुर मल्ललाई चुनावी मैदानमा उता¥यो । उनलाई एमाले र प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेका डा. तारा जोशी समूहको पनि समर्थन थियो । तर, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको अपराजित यात्रालाई भने मल्लले रोक्न सकेनन् । देउवा २५ हजार ५३४ मतसहित विजयी हुँदा बीपी कांग्रेसबाट चुनाव लडेका मल्ल सात हजार ५३५ मत पाएर तेस्रो भए । दोस्रो भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका थिए ।
गत निर्वाचनमा साढे सात हजार बढी मत पाएका मल्ल यसपटक उम्मेदवार छैनन् । उनी मात्रै नभएर बीपी कांग्रेसले नै चुनावमा उम्मेदवार उठाएको छैन । आफ्नै समर्थनमा गत प्रदेशसभा निर्वाचनमा डा. जोशीलाई विजयी बनाइएको बताउने बीपी कांग्रेस डडेल्धुराका नेताहरु आसन्न निर्वाचनमा पनि आफूहरु निर्णायक शक्ती भएको दाबी गर्दै आएका छन् । बीपी कांग्रेसकै एक नेताका अनुसार प्रदेशसभा निर्वाचनमा सघाइएका जोशीलाई प्रतिनिसधभा निर्वाचनमा समर्थन गर्ने सम्भावना कम छ । ‘हाम्रै सहयोगले डाक्टर साप प्रदेशसभा विजयी हुनुभएको थियो,’ ती नेताले भने, ‘तर, विजयी भएपछि तीन वर्ष उहाँका गतिविधि ठिक भएनन् ।’
कांग्रेस बीपीको जिल्ला कार्यसमिति डडेल्धुराले निर्वाचनमा कसलाई सघाउनेबारे चाँडै निर्णय गर्ने जनाएको छ । ‘आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा डडेल्धुरामा बीपी काँग्रेसको धारणा र रणनीतिका बारेमा व्यापक चर्चा चलिरहेको छ,’ जिल्ला सभापति भरत नेपालीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यथासिघ्र चाडो निर्णय प्रक्रियामा पुग्ने प्रतिबद्धताका साथ नहतारिएर केही समय प्रतीक्षा गर्न अनुरोध गर्दछौं । साथीहरुसंग छलफलपछि एउटा निश्चित राजनीतिक निर्णय गरिने कुरा सबैलाई जानकारी गराउँछौं । हाम्रो निर्णय न्यायका पक्षमा हुनेछ ।’
बीपी कांग्रेसका उपसभापतिसमेत रहेका मल्ल डडेल्धुराबाट उम्मेदवारी दिएका १३ उम्मेदवार नै आफ्ना लागि समान भएको बताउँछन् । ‘आजको अवस्थासम्म हामीले कुनै एक उम्मेदवारलाई समर्थन गरेका छैनौं,’ उनी भन्छन्, ‘हाम्रा लागि सबै उम्मेदवार बराबर हुन् ।’ मल्लका अनुसार देउवा सभापति हुँदैदेखि नेपाली कांग्रेससंग एकताका विषयमा छलफल अगाडि बढाइएको थियो । ‘अहिले विशेष महाधिवेशनमार्फत आएको नेतृत्वले पनि एकताको विषय अगाडि बढाएको छ,’ मल्लले भने, ‘एकता भइहाल्यो भने कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्छौं ।’ डडेल्धुराबाट कांग्रेस उम्मेदवार नैनसिंह महरले यसअघि नै मल्ललाई भेट्दै चुनावमा सहयोग मागिसकेका छन् ।
बीपी कांग्रेसले कांग्रेस उम्मेदवार महर र रास्वपा उम्मेदवार जोशीलाई समर्थन नगरे आफूहरुलाई सहज हुने विश्वास नेकपा र एमाले उम्मेदवारको छ । अघिल्लो निर्वाचनमा मल्ललाई सघाएकोले यसपटक उनीहरुको समर्थन पाउने आशमा एमाले छ ।
प्रतिक्रिया