आर्थिक संकटमा बयलपाटा अस्पताल
साँफेबगर । अछामको बयलपाटा अस्पतालमा आर्थिक संकट चुलिएको छ । आर्थिक संकटकै कारण जुनसुकै बेला स्वास्थ्य सेवा रोकिन सक्ने अवस्था उत्पन्न भएको छ । अस्पतालको जनप्रशासन विभागले अस्पतालबाट प्रवाह सेवा उपयुक्त व्यवस्थापनका लागि आर्थिक संकटको सामना गरिरहनु परेकाले रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको पदपूर्ति गर्न नसकेको जनाएको छ ।
आर्थिक अभावका कारण बिरामीलाई आवश्यक पर्ने औषधी, ल्याब तथा अन्य स्वास्थ्य सामग्रीको खरिद, भण्डारण तथा आपूर्ति गर्नसमेत कठिनाइ भइरहेको सो अस्पतालले जनाएको छ । सेवाग्राहीलाई समयभित्र स्वास्थ्य चेकजाँच गर्न तथा आवश्यकताअनुसार सबै औषधी उपलब्ध गराउन समस्या हुँदै आएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।
सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा अस्पताल स्थापना भएको थियो । ५० शय्याको सो अस्पतालमा अहिले सात जना चिकित्सक र २० जना नर्स छन् ।
प्रतिक्रिया