काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन् । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, 'म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।'
भारतीय प्रधानमन्त्री मोदीले ओलीसँग फलदायी भेटवार्ता भएको बताएका छन् । मोदीले नेपालसँगको सम्बन्ध भारतको सधैं प्राथमिकतामा रहेको बताएका हुन् ।
एक्समा ओलीलाई मेन्सन गर्दै मोदीले लेखेका छन्, 'बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।'
प्रतिक्रिया