धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भइरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान छ ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने तीन क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन भइसकेको छ ।
कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने तालबान्दी छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियू र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रशासनले १८ चैत उम्मेदवारी दर्ताको अघिल्लो दिन तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।
डेढ दशकअघि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन ।
यस्तै, तीन आंगिक क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन भएको छ । बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया सभापतिमा सर्वसम्मत चयन भएका छन् । त्यहाँ उपसभापति र सचिव नेविसंघका छन् । यस्तै बाजुराकै बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सविन रावत निर्विरोध निर्वाचित भएका छन् ।
डोटीको सीताराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै निर्विरोध निर्वाचित भएको छ । स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर, उपसभापतिमा मनिषा कुमारी भट्ट(रोस्यारा), सचिवमा ललितबहादुर साउद, सहसचिवमा लक्ष्मीकुमारी विक, कोषाध्यक्षमा कविताकुमारी बलायर निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया