ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा लागुऔषध नियन्त्रण र सीमामा सहजीकरणका लागि समिति गठन

शुक्रबार ०५, बैशाख २०८२ ०५:१०

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषध नियन्त्रण र सीमामा सहजीकरणका लागि समिति गठनको निर्णय भएको छ । शुक्रबार बसेको प्रदेशका मन्त्रीपरिषद्को बैठकले दुई वटा समिति गठनको निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले दिएको जानकारीअनुसार लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठनको निर्णय भएको जानकारी दिएको छ । 

लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा रहने छ । उक्त समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुख सदस्य रहने मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

यस्तै, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समितिको संयोजकत्व पनि प्रमुख सचिवले नै गर्ने छन् । उक्त समितिमा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, तीन वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सदस्य रहने छन् ।

उक्त समितिले राजश्व अभिवृद्धी, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन प्रवद्र्धन र रोजगारीका लागि भारत जाने नेपाली नागरिकहरुको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्ययोजना तयार गर्ने बताइएको छ । 

प्रतिक्रिया