ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
पुनर्निर्माणको पर्खाई साँफेबगर आगलागी पीडित

आफ्नो घर भत्काएर साँफेबगर जल्नबाट बचाउने गीताको घर बनाइदिन अपिल

मङ्गलबार १६, बैशाख २०८२ ०४:२७

धनगढी । अछामको साँफेबगर हाटबजारमा आगो लागेपछि थप पसल बचाउन आफ्नो घर भत्काएकी गीता कठायत कुँवरको घर बनाउन सहयोगको लागि अपिल गरिएको छ ।

बैशाख १३ गते राति साँफेबगर हाटबजारमा भएको आगलागी नियन्त्रणमा लिन गीताले आफ्नो पक्की घर भत्काउन अनुमति दिएकी थिइन् । उनको घर भत्काएपछि साँफेबगरमा लागेको आगो नियन्त्रणमा आएको थियो । 

स्थानीय व्यापारी प्रेम खड्काको शुभेच्छा मम सेन्टरमा विद्युत सर्ट भएर लागेको आगोले १० वटा पसल जलेको थियो । जति पानी हाल्दा पनि आगो नियन्त्रणमा नआएपछि डोजरले गीताको घर भात्काइएको थियो । ‘आगो फैलिन नदिन अगाडीको घर भत्काउनु बाहेकको उपाय थिएन,’ गीताले भनिन्, ‘आफ्नो घर भत्काउन कोही तयार थिएनन् । त्यही भएर आफ्नो घर भत्काउन दिएकी हुँ ।’

आफ्नै अगाडि सबैका पसल जलिरहेको देखिरहेकी गीताको घर भत्किएपछि आगो अगाडि बढ्न पाएन । उनको घरका दुई सटर मध्ये एउटामा रेष्टुरेन्ट र अर्काेमा  सुनचाँदी पसल थियो । ‘त्यहाँ पनि आगो सक्नि थालेको थियो,’ गीताले भनिन्, ‘आगोलाई अगाडि बढ्नबाट रोक्न मेरो पक्की घर भत्काउन पथ्र्यो । बरु मेरै घर जाओस्, अरू त जोगिएला भन्ने सोचेर भत्काउन दिएँ ।’

जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार आगलागीबाट १० पसल जलेका छन् भने तीन तीन करोड ८६ लाख ६५ हजारको क्षति भएको छ । पसल र घरहरूको भौतिक क्षतिको गणना गरिएको छैन । डोजरले भत्काएपछि आगो निभ्यो । तर गीताको घरसंगै घरमा रहेको सरसामान पनि नष्ट भयो ।

२८ वर्षीया गीताको एक छोरी छन् । श्रीमान्को ४ वर्षअघि सडक दुर्घटनामा मृत्यु भएको थियो । उनीसंग श्रीमानको अन्तिम चिनो त्यही घर थियो । स्थानीय गैरसरकारी संस्था वाक नेपालमा कार्यरत गीताले घटनापछि अफिस जान पनि मनले नमानेको बताउँछिन् ।

 

पुनर्निर्माणको पर्खाई

आगलागीबाट घर जलेका १० परिवारले अहिले पुनर्निर्माण कुरिरहेका छन् । उनीहरुहरुको दैनिकी बिग्रिएको छ । 

साँफे हाटबजार आगलागी पीडितका लागि १० लाख रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ । साँफेबगर नगरपालिकाले ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

स्थानीय सरकारले क्षतिको विवरण संकलन गरिरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । उनीहरुले पुनर्निर्माणका लागि प्रदेश र संघीय सरकार अनुरोध गर्ने बताएपनि ठोस पहल हुन सकेको छैन । पीडितहरुले सबै मिलेर आफ्ना घर बनाइदिन अपिल गरेका छन् ।

गीतालाई पनि स्थानीय सरकारले घर बनाइदेला भन्ने आश छ । तर बर्खा लाग्नै लाग्दा समेत सुरसार भएको छैन । पीडितहरु पाल हालेर पनि बस्न बाध्य छन् । 

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले पुनर्निर्माण र आगलागी पीडितको व्यवस्थापनका लागि स्थानीय सरकारले तीनै तहका सरकार लगायत सरकारी र गैर सरकारी निकायसंग समन्वय गरिरहेको बताउछन् । विपदको यस घडिमा स्थानीय सरकारले तत्काल राहत लगायतका अन्य योजना अघि बढाएको नगर प्रमुख कुँवरको भनाई छ । 

प्रतिक्रिया