धनगढी । डडेल्धुरा जिल्लामा निर्माण कम्पनीहरुले तीन वटा योजना अपलत्र पारेका छन् । पार्भती निर्माण सेवा डडेल्धुराले आलिताल गाउँपालिका–१ को देउवागाउँ सिँचाइ योजना, शर्मा–थेगिम जेभी धनगढीले भागेश्वर गाउँपालिका–४ को नौगाउँ डुङरी सिँचाइ योजना र भुवनेश्वरी निर्माण सेवा डडेल्धुराले मनसुता सिँचाइ योजना अलपत्र पारेका हुन् ।
नेपाल सरकारले ०७८ चैत मसान्तसम्मको म्याद दिएर ०७४ बैशाख २९ गते देउवागाउँ, ०७२ असोज २१ गते नौगाउँ डुङरी र ०७४ फागुन १४ गते मनसुता सिँचाइ योजना ठेक्का लगाएको थियो । संघीय व्यवस्था लागु भएपछि नेपाल सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई तीन वटै सिँचाइ योजना हस्तान्तरण गरेको थियो ।
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय डडेल्धुराका प्राविधिक अधिकृत मनमोहन द्वारियाले निर्माण कम्पनीहरुलाई पटकपटक ताकेता गरे पनि काम नगरेको बताए । योजना सम्पन्न गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिरहेको छ । डिभिजन कार्यालयको ताकेता पत्रको जवाफमा निर्माण कम्पनीहरुले काम गर्ने बताए पनि काम नगरेको उनले बताए । उनले अब पनि काम नगरे कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
डडेल्धुराको आलिताल गाउँपालिकाका किसानलाई वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउन वडा नम्बर १ मा नेपाल सरकारले देउवागाउँ सिंचाई योजना सुरु गरेको थियो । एक करोड ५६ लाख ९० हजार लागत अनुमान गरिएको योजनाको ठेक्का पार्वतीले ६२ लाख पाँच हजारमा कबोल गरेको थियो । निर्माण कार्य अलपत्र पारे पनि सो योजनाको ठेक्काबापत पार्वती निर्माण सेवालाई डिभिजन कार्यालयले ४८ लाख १३ हजार ४१७ रुपैयाँ भुक्तानी दिएको छ ।
विभिन्न ठाउँमा ठेक्का लिंदै योजना अपलत्र पार्दै आएको थेगिम निर्माण सेवाले शर्मा कन्स्ट्रन्सनसंगको ज्वाइन्ट भेन्चरमा नौगाउँ डुङरी सिंचाइ योजनाको ठेक्का लिएको थियो । छ करोड ९४ लाख ८७ हजार रुपैयाँ लागत अनुमान भए पनि तीन करोड ७९ लाख ३१ हजारमा थेगिमले ठेक्का कबोल गरेको थियो । थेगिमले नौगाउँ सिंचाई योजना अलपत्र पारेको भए पनि डिभिजन कार्यालयले थेगिमलाई एक करोड ५७ लाख ३५ हजार २५० रुपैयाँ भुक्तानी दिएको छ ।
यसैगरी, भुवनेश्वरी निर्माण सेवाले मनसुता सिंचाई योजना निर्माण गर्न ५५ लाख ५५ हजार रुपैयाँमा ठेक्का लिएको थियो । एक करोड ६८ लाख रुपैयाँ लागत अनुमान भए पनि भुवनेश्वरीले मनसुता सिंचाई योजना एक तिहाई बजेटमै सम्पन्न गर्ने कबोल गरी ठेक्का लिएको थियो । डिभिजन कार्यालयले योजना अलपत्र पार्ने भुवनेश्वरीलाई ३८ लाख २० हजार पाँच सय रुपैयाँ भुक्तानी दिएको छ ।
प्रतिक्रिया