धनगढी । पूर्वाधार विकास कार्यालय अछामले अछाम र बाजुरा जिल्लामा दुई वटा प्रदेश गौरवसहित सात सडकहरुमा झण्डै १९ वटा ठेक्का लगाएको छ । तीमध्ये १४ वटा ठेक्काको पटकपटक म्याद थप गर्दा पनि ठेक्का सम्पन्न हुन सकेको छैन ।
तीन अर्ब ५७ करोड १३ लाख ५० हजार ८३३ रुपैयाँमा बाजुरा र अछाममा सडक निर्माणका १३ वटा ठेक्का लगाइएकोमा ती सडक निर्माण गर्ने जिम्मा पाएका कम्पनीहरुले ढिलासुस्ती गरेका हुन् । सो सडक निर्माणका लागि हालसम्म एक अर्ब ८९ करोड १४ लाख ४० हजार ६३६ रुपैयाँ खर्च भइसकेको छ भने यसवर्ष ५७ करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ ।
अछामको जयगढ–मझठाना–रामारोशन सडकमा २०७५/७६ मा दुई वटा र ०७६/७७ मा एउटा ठेक्का लगाइएको थियो । पहिलो वर्ष भएको ठेक्का मध्ये जिरो पोइन्टदेखि १२.४४ किलोमिटरसम्मको खण्ड उपग्रेड गर्न बज्रगुरु कन्स्ट्रसनले ३० करोड २४ लाख दुई हजार ४९१ रुपैयाँमा ठेक्का लिएको थियो । यो आठ वषको अवधिमा सो खण्डको प्रगति जम्मा ७८ पू्रतिशत भएको छ ।
सोही वर्ष १२.४४ किलोमिटरदेखि १७.६९ किलोमिटरसम्मको खण्ड अपग्रेडिङ गर्न अनक जयदेवी जेभलाई १३ करोड ७९ लाख २६ हजार ७३४ रुपैयाँमा ठेक्का दिइएको थियो । ८ वर्षमा यसको प्रगति जम्मा ५१ प्रतिशत भएको छ । अर्को वर्ष ०७६/७७ मा १७.६९ देखि ३८.८४ किलोमिटर खण्डमा ठेक्का लगाइएको सडकको प्रगति ४३ प्रतिशत मात्रै छ । ५७ करोड ४२ लाख ८३ हजार २३९ रुपैयाँमा सो खण्ड अपग्रेडिङ गर्ने ठेक्का लिएको पिएस बानिया जेभीले पनि तदारुकताका साथ काम गरेको छैन ।
अछामकै विनायक लयाटी पुलेतोला रामारोशन सडक अपग्रेडिङ गर्न २०७८/७९ मा लगाइएको ठेक्काको काम शनीदेवी निर्माण सेवाले ठेक्काको अवधि सकिनै लाग्दा ४४ प्रतिशत मात्रै काम गरेको पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ । कार्यालयका अनुसार १६ करोड ३७ लाख २७ हजार ४६२ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ७ करोड चार लाख ८९ हजार २०२ रुपैयाँ भुक्तानी भइसकेको छ ।
अछामको प्रदेश गौरवको चिसापानी–जंगलघाट–बडीमालिका सडकमा पनि तीन वटा ठेक्का लगाइएको छ । ०७६/७७ मा जंगलघाट–तुर्माखाँद–बाँसकाँडा खण्ड बानिया निर्माण सेवालाई नौ करोड ४७ लाख ७८ हजार ६४१ मा, ०७८/७९ मा गैरीटाँड–कालागाउँ–दर्ना खण्ड शनिदेव निर्माण सेवालाई १७ करोड १४ लाख ४४ हजार ३७७ मा र ०७९/८० मा गैरीटाँड–कमलबजार–बाँसकाँडा खण्ड पिके निर्माण सेवालाई ६९ करोड ४३ लाख ५३ हजार ९०७ मा ठेक्का दिइएको छ । कार्यालयका अनुसार सडक अपग्रेड गर्न लगाइएको पहिलो ठेक्काको ८०, दोस्रो ठेक्काको ५९ र तेस्रो ठेक्काको ६५ प्रतिशत काम भएको छ ।
अछामकै साँफेबगर–नन्देगडा–मेल्लेख–षोड्ष–ऋषिदह सडक ०७८÷७९ मा नाती कन्स्ट्रक्सनलाई १३ करोड २८ लाख १० हजार २०८ रुपैयाँमा ठेक्का लगाइएको दिइएको थियो । सो ठेक्कामा अपग्रेडिङको काम ७९ प्रतिशत भएको कार्यालयले जनाएको छ ।
यसैगरी बाजुराको मार्तडी–कोल्टी पिलुचौर ४० किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ठेक्का लगाइएको आठ वर्षसम्म आधा काम पनि भएको छैन । ०७५÷७६ मा ९ देखि १४ किलोमिटरसम्मको सडक खण्ड बनाउन बानिया कुशेश्वर जेभीलाई १२ करोड ११ लाख ७८ हजारमा ४९८ रुपैयाँमा ठेक्का दिइएको थियो । बानियाले आठ वर्षमा ६० प्रतिशत काम गरेको छ । ०७६/७७ मा १४–४० किलोमिटरसम्मको सडक बनाउन पिएस बानिया भेजीलाई ५० करोड १६ लाख ९५ हजार ४५६ रुपैयाँमा ठेक्का दिइएको छ । दुबै खण्ड निर्माण गर्ने एउटै कम्पनी भएले सो खण्डमा पनि बानियाले काम गरिरहेको छ । बानियाले यस खण्डमा सात वर्ष लगाएर ५० प्रतिशत काम गरेको छ ।
बाजुराको प्रदेश गौरवको खप्तड मार्तडी सडक अन्तरगत तीन वटा ठेक्का लगाइएको छ । सो सडक अन्तरगत ०७५/७६ सेरा आटीचौर–थामलेक सडक बनाउन १२ करोड २१ लाख आठ हजार १८१ मा ठेक्का लिएको अनक जयदेवी जेभीले ७० प्रतिशत काम गरेको छ । सोही सडकको भौनेरा–आटीचौर र डोगडी–गैरीखाँद–काँडा खण्ड २०७८/७९ मा ठेक्का लगाइएको थियो । भौनेरा–आटीचौर खण्ड ३७ करोड ८२ लाख ३७ हजार ४३ र डोगडी–गैरीखाँद–काँडा खण्ड १७ करोड ६४ लाख चार ६ सयमा ठेक्का लिएको केएसएमकेबिसि–तेज जेभीले क्रमशः ३१ र ७० प्रतिशत काम गरेको कार्यालयले जनाएको छ ।
ति सडकहरुमा ठेक्का लगाइएको ६ वटा पुलको योजना समेत अधुरो छ । भौनेरा, मालागाड, बर्खाली, सिमधारा र अनाईखोलामा पक्की पुल निर्माण गर्न ०७९/८० मा ठेक्का लगाइएको छ । ति पुलहरुको काम क्रमशः ४०, ४२, ३१, ३५ र ८० प्रतिशत भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, बाजुराको बार्जुगाडमा ०७२/७३ मा पक्कीपुल निर्माण गर्न ठेक्का लगाइएकोमा १० वर्षसम्म ९० प्रतिशत मात्रै काम भएको छ । कार्यालयका अनुसार ३८ करोड ८१ लाख ६४ हजार ८०१ रुपैयाँमा ६ वटा पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । हालसम्म ति पुल निर्माण गर्न १३ करोड २६ लाख ९१ हजार ६९८ रुपैयाँ खर्च भएको छ भने १५ करोड ६४ लाख ३१ हजार रुपैयाँ दायित्व सिर्जना भएको छ ।
पटक पटक म्याद थप गरिएपनि ति निर्माणको जिम्मा पाएका कम्पनीहरुले ढिलासुस्ती गरेको कारण प्रगति नभएको पुर्वाधार विकास कार्यालयका प्रमुख जंगबहादुर थापाले बताए ।
निर्माण कम्पनीहरुले धेरै काम लिएकाले विस्तारै काम गर्ने र थोरै रकम भुक्तानी लिने गरेको बताउँदै उनले काम गरे भुक्तानीको लागि बजेटको समस्या नरहेको जनाए । उनले दुर्गममा काम गर्नुपर्ने भएकोले निर्माण सामाग्री ढुवानी, वर्षात्को समयमा सडक भत्किने लगायतको समस्याको कारणले पनि काम हुन नसकेको बताए ।
प्रतिक्रिया