धनगढी बस्न लागेको पनि दुई दशकभन्दा बढी समय बितिसकेछ । योभन्दा थोरै अर्थात् डेढ दशक समय जन्मभुमि गडसेरा बसियो । समयको परिमाणभन्दा पनि कालखण्डले बढी प्रभाव पार्दोरहेछ जिन्दगीको खुसीमा । अंकगणितिय हिसाबले जन्मभुमिमा थोरै समय बिताए पनि ती क्षणहरु अबिस्मरणिय छन्, लोभलाग्दा छन् र यादगार छन् ।
जबजब धनगढीमा तिहारको चहलपहल सुरु हुन्छ, म आफ्नै बाल्यकालिन दुत्यलाई सम्झिन्छु । क्यालेन्डरमा तिहार लेखिएको मात्र पढ्थे, भन्नलाइ दुत्य नै भन्थ्यौँ हामी । त्यही दुत्यका यादहरु अमिट भएर बसेका छन्, मस्तिष्कको क्यानभासमा । र, त बेलाबखत उप्किन्छन् पत्रपत्र भएर । अनि पोखिन्छन् अक्षर भएर कि त फेसबुकका पेजहरुमा, कि त अनलाइन न्युजका पानाहरुमा ।
तिहारको तयारी गर्दै गर्दा जब लाइट किन्न बजार पुग्छु, तब दुत्यको तयारी स्वरुप झुरो फाड्दै गरेको यादहरु आँखा अघाडी झल्झली आउँछन । त्यो किशोरवयमा खेलिएको देउसीभैँलो आज पनि कानमा गुन्जिन्छ ।
दसैँ सक्किए लगत्तै दुत्यको माहोल सुरु हुन्थ्यो । विद्यालय बिदा हुन्थ्यो । धान काट्ने, चुट्ने, सुकाउने, पराल बोक्ने, खेत खन्ने, डल्ला पिट्ने, गहुँ बुने लगायतका कामको चटारो गाउँमा बस्ने सबैलाई हुन्थ्यो । दुत्यसम्म लगभग खेतीकिसानिको काम सक्किसकेको हुन्थ्यो । कहिलेकाहीँ मात्र थोरै बाँकी हुन्थ्यो । कामको चटारोकाबिच पनि चाडबाड आउनुको मजै बेग्लै हुन्थ्यो । शारीरिक थकान भएतापनी चाडबाडले न्यारै उत्साह र उमङ्ग ल्याएको हुन्थ्यो सबैमा । हुने पनि खुसी हुन्थे, नहुने पनि खुसी । आत्मादेखी नै खुसी देखिन्थे सबैजना । अभावमा पनि रमाउने जो मौलिक शैली थियो गाउँमा ।
आर्थिक हैसियत मापन गर्ने कुनै त्यस्तो सुचक थिएनन्, त्यो बखत । सबै खेती किसानी गर्थे, सबैले गाइभैँसी पाल्थे गाउँमा । सबैका घर ढुङ्गामाटोले बनेका र कँयारले छाएका हुन्थे । सबैको भान्साबाट धुँवा पुत्पुताइरहेको हुन्थ्यो । सबैका पैतला फुटेका देखिन्थे । कुनै पनि चाडपर्व आउँदा सबैका घरमा निसौसे, माणा पाकेकै हुन्थे । हो, यस्तयस्तै कारणले गाउँलेहरुबीबच त्यति धेरै असमानता देखिदैन थियो ।
चाडपर्व मनाउने आफ्नै मौलिक शैली र परम्परा हुन्थ्यो गाउँमा । न विदेशी सङ्स्कृतीको कपि–पेस्ट थियो, न त पश्चिमा सङ्स्कृतीको प्रभाव । जे थियो, अर्गानिक थियो । गाउँलेहरुबीच सरसहयोग गर्ने संस्कार र भावना अनि एकता अर्गानिक थियो । अरिमापरिमा गर्ने सहकार्यको सङ्स्कार पुरानो थियो । गोरसपात बाँडिचुँडी खाने परम्परा लोभलाग्दो थियो । हुनेले नहुनेलाइ दिने चलन गर्बिलो थियो । यस्त यस्तै सङ्स्कार र परम्परा अँगाल्दै आएको समाजमा जन्मिए‘ र हुर्किए‘ म पनि । त्यहीँको चालचलन र रितिरिवाज मान्दै अघि बढेँ । जुन समाजमा जन्मेहुर्के, जहाँ मेरा बालापन र किशोर बयका महत्त्वपूर्ण आधारबर्सहरु बिते, आज ती पलहरु सम्झिरहेछु ।
दसैँ सक्किए लगत्तै हामी केटाकेटी दुत्यलाइ पर्खेर बसिराखेका हुन्थ्यौँ । पुर्णिमादेखी त्रयोदशीसम्मका तेह्र दिन हामिलाइ धौ काट्नु हुन्थ्यो । सबैका घरमा क्यालेन्डर र पात्रो हुँदैनथ्यो । औँला भाँचि भाँची दिन गन्दै दुत्यलाइ कुरेर बस्थ्यौँ । रेडियो नेपालबाट बज्ने देउसी भैँलोका सङ्गितले दुत्य आइसकेको महसुस गराउँथ्यो ।
जब जब दुत्य नजिकिँदै जान्थ्यो, तब तब गाउँका हामी केटाकेटीको भेटघाट र ढुङ्गे बैठक बाक्लिदै जान्थे । दुत्यको सांस्कृतीक र सामाजिक महत्व हामिले बुझ्ने कुरै भएन त्यो बखत । न त कहिँ कतै यस्ता विषयमा बहस नै हुन्थे । हामिलाइ भैँलो खेलेर कसरी बर्ता रुप्पे बनाउने भन्ने मात्र लोभ हुन्थ्यो । दुत्य लगत्तै सुरु हुने जाँतहरुको लागि आवश्यक खर्च जुटाउनु पनि त थियो । त्यसैले हामी देउसीभैँलो खेल्ने समयतालिका र जिम्मेवारी बाँडफाँड गर्न भेट्थ्यौँ, छलफल गथ्र्यौँ । कहिलेबाट देउसी खेल्ने ? कति बजे बाट कति बजे सम्म खेल्ने ? कुन कुन गाउँ जाने ? कुन कुन घरमा झिक्क पैसा र चामल मिल्न सक्छ ? अघिल्ला बर्षका अनुभवका आधारमा पुर्वानुमान सहित लक्ष निर्धारण गथ्र्यौँ । सुरक्षा चुनौतीहरुका बारेमा बहस छेड्थ्यौँ । कुन कुन घरमा कुकुर छन ? कहाँको बाटो छोटो र सजिलो छ ? उज्यालोको साधन के के छन ? कसले देउसी भट्याउने ? कसले चामल छोड्ने र बोक्ने ? दानदक्षिणाको हिसाबकिताब कसले राख्ने ? उज्यालोको लागि झुरो र टर्चको ब्यवस्थापन कसले गर्ने ? बाटो देखाउन अघि को लाग्ने ? देउसीभैँलो खेलेर सङ्कलित रुपैयाँपैसा के गर्ने ? काँ खर्च गर्ने ? भाग हाल्ने कि बनभोज जाने ? यी र यस्तै प्रश्नहरुको गहन छलफल हुन्थ्यो । एउटा प्रजातान्त्रिक परिपाटीमा निर्णय लिइन्थ्यो र देउसी खेल्ने दिनको तिब्र प्रतीक्षामा हुन्थ्यौँ ।
यमपन्चकका पाँच दिनहरु मध्य पहिलो दिन त्रयोदशी, काग तिहार । हाम्रो देउसीभैँलोको यात्रा यहीँबाट सुरु हुन्थ्यो । पुर्वयोजना अनुसार आवश्यक तयारी र रणनितिका साथ देउसीभैँलो खेल्ने साथिहरुको समूह तोकिएको ठाउँमा जम्मा हुन्थ्यौँ । एकजना टोलिनेता छानिएको हुन्थ्यो । उसैको निर्देशन र सल्लाह अनुरुप टोलि अघि बढ्थ्यो । युद्ध जित्न निस्किएको सिपाही जस्तो । आवश्यक हातहतियार र युद्द रणनिती बनाएर निस्किएको सिपाही जस्तै हामिहरु पनि टोलि नेताको पछि पछि हिड्थ्यौँ ।
अँध्यारो रात, घरको बन्धारीमा देखिने टिलपिल टिलपिल बत्ती । कुकुरको एकोहोरो भुकाइ । झुरोको मधुरो प्रकाशमा देउसीभैँलो खेल्दै अघि बढिरहेका भैँलेरुहरुको खासखुस खासखुसको आवाज । सुनसान रातमा ढुङ्गामा ठोक्किदै ओरालो झरिरहेको गाडको पानीबाट निस्किने ध्वनि । झुरोको राँको समाएर टोलि नेता बाटो देखाउँदै अघाडी बढ्छ, त्यही प्रकाशको सहारामा पैतलालाइ जमिनमा स्पर्श गराउँदै हामिहरु गन्तव्यमा लम्किरहन्छौँ ।
पुर्वयोजना अनुरुप नै देउसीभैँलो खेल्दै हामी प्रत्येक घर घर पुग्छौँ । बाटो छोट्याउन गहुँ छरेका गडामा बाटो बनाइदिन्छौँ । टुसा उम्रदै गरेका तोरी कुल्चिदै बाटो छोटो बनाइदिन्छौँ । दुईचार गडा फट्टक हान्दै समय छोट्याइदिन्छौँ । जसरी हुन्छ छोटो समयमा धेरै घर भ्याउनुपर्ने हुन्थ्यो । अझ भनॉै, दुत्यका पाँच दिनमा धेरै पैसा कमाउनु जो छ । भन्न त भन्थ्यौँ, हामी त्यसै आएका होइनौ, बलीराजाको हुकुमले गर्दा आएको । रित जनाउन, थिती बसाल्न आएको । देउसीभैँलो भट्याउँदा जे भने पनि हाम्रो एकमात्र उद्देश्य पैसा सङ्कलन गर्नु हुन्थ्यो । त्यसको लागि न त निन लागि भन्थ्यौँ, न त पटाइ भै । न जाडी हुन्थी, न त लाग्थी भोक । भोक थियो त पैसा कमाउने । त्यसैले त राती अबेरसम्म पनि भैँलो खेल्थ्यौँ । टाढा टाठासम्म पुगिदिन्थ्यौँ भैँली खेल्न । पुरै रात बिताइदिन्थ्यौँ भैँलो खेलेर । न त डर लाग्थ्यो कुकुरको, न मान्थ्यौँ भुतको । न्यारै जोश थियो किशोरबयको । तडि थियो भोक र निद सहने । आँट र हिम्मत थियो कुकुरसङ्ग लड्न सक्ने, भुतसङ्ग पनि भिड्न सक्ने । आत्मबिश्वास थियो पटाइ र जाडी खप्न सक्ने, उकाली र ओराली गर्न सक्ने । त्यसैले त अबेर रातसम्म पनि हिँडिरहेका हुन्थ्यौँ भैँलो खेल्न । किनकी पैसा कमाउनु थियो धेरै । दिउँसेडी जाँतमा मुमफली किन्नु थियो । जिलेबी किन्नु थियो । अम्बा र सुन्तला किन्नु थियो । पक्की मिठाइ र पकौडा किन्नु थियो । धेरै त के पो किन्ने सपना हुन्थे र हामी केटाकेटीका ? पचास रुपैयाँ गोजिमा हुने हो भने पेटभरी धित मरुन्जेल किनेर खान पुग्थ्यो । बस, त्यही पेटभरी आफुले चाहेको चिज किनेर खान पुग्ने पैसा मात्र चाहिएको त थियो ।
धेरै पैँसा र चामल जम्मा गर्ने लोभमा धेरै टाढा टाढासम्म पुगिसकेका हुन्थ्यौँ राती । कहिलेकाँही योजनाले फेल खान्थ्यो । कहिलेकाँही नेतृत्वले । कहिलेकाँही हाम्रो रणनिती असफल हुन्थ्यो, कहिलेकाँही हाम्रो लोभले असफल बनाउँथ्यो । बोकेको झुरो सकिन्थ्यो, आगो निभ्थ्यो । घर त फर्किनै पथ्र्यो । अँध्यारोमा छामछुम गर्दै अन्समारले घर पुग्थ्यौँ । कोहि लड्थ्यौँ, कोहि चिप्लिन्थ्यौँ । कसैलाइ ठेस लाग्थ्यो त कसैलाइ काँणा बिज्थ्यो । कसैलाइ कुकुरदेखी डर लाग्थ्यो त कसैलाइ भुतदेखी । लक्ष्य र उदेश्य समान भएतापनी समस्या र चुनौती भिन्न भिन्न थिए हामी बालभैँलेरुका । त्यसैमा त फेरि मजा आउँथ्यो । जिस्किन्थ्यौँ, जिस्क्याउँथ्यौ पनि । खेल्थ्यौँ र रमाउँथ्यौँ असाध्यै । कोहि रिसाउँथ्यौ त कोहि फकाउँथ्यौ पनि । कोहि उपद्रो गर्न जोश्शिन्थ्यौँ त कोहि सम्झाउन । यसैगरी बितिजान्थे दुत्यका पाँच रातहरु ।
हामी केटाकेटिहरु जस्तै जवान र प्रौढहरु पनि देउसीभैँलो खेल्थे । जसलाइ ‘बूढो भैँलो’ भनिन्थ्यो । उहाँहरु सङ्ख्यामा धेरै हुनुहुन्थ्यो । बाजागाजा सहित रातभरी भैँलो खेल्नुहुन्थ्यो । उज्यालोको लागि गैँश र लालटिनहरु, टर्चहरु प्रशस्त हुन्थे । बाजागाजा सहित भैँलो भट्याउ‘दा गाउँ नै थर्किन्थ्यो । गाउँ नै जाग्थ्यो । बूढो भैँलो हेर्न जयजात्कहरु रातभरी जागा बसिदिन्थे । मलाइ पनि ती रातहरु याद छन । साँझ सुत्दा आमासङ्ग बूढो भैँलो आउँदा बिउँझाइदिन अनुरोध गरेर सुत्थे । मध्यरातमा बूढो भैँलो पुग्दा आँखा मिच्दै मिच्दै झ्यालबाट हेर्थे । आँगनभरी छरिएका हुन्थे भैँलेरुहरु । कोहि खला डिणका ढुङ्गामी बसेर बिणि खाइरहेका हुन्थे त कोहि करेटीतिर पिसाब फेरिरहेका । कोहि भट्याउँथे, कोहि साथ दिन्थे भैँलो भनेर । कोहि गित गाउ‘थे त कोहि नाच्थे । आफ्नै मौलिक शैली हुन्थ्यो नाच्ने र गाउने । भैँलो भट्याउने र साथ दिने । दिनभरीको थकान यहि देउसीभैँलोको रमाइलोमा बिलय हुन्थ्यो होला ।
रातहरु जसरी बित्थे, दिनहरु फरक थिए । खेतीपातीको समय हुँदा खेतबारीको काममा सघाउनुपथ्र्यो । खेतमा पोटलि पुगाउन जानुपथ्र्यो, बल्ललाइ पराल लग्नुपथ्र्यो । बाखरा चराउनुपथ्र्यो । दिउँसो जो जता भएपनी सन्ध्याकालिन मिलन एउटै बिन्दुमा हुन्थ्यो साझा उदेश्य प्राप्तीका लागि ।
केटाकेटी त भैहाल्यौँ । उट्पट्याङ गर्ने प्राकृतिक स्वभाव कहाँ पो लुप्त हुन्थ्यो । योजनाबद्ध त भन्न मिलेन, आकस्मिक रुपमा विभिन्न उपद्रो मच्चाइहाल्थ्यौँ । केरा पकाउन घडिखातामा राखिएका हुन्थे । टाढैबाट त्यसको सुगन्धले निम्त्यादिन्थ्यो । र चोरी गर्न उद्देलित गराइदिन्थ्यो हामिलाइ । भाइटिकाको दिनलाई पकाउन राखिएका केरा हाम्रो शिकार बन्थे अँध्यारोमा । सिस्नु लाग्थ्यो अँध्यारोमा, कुकुर टोक्न आउँथे । घरबेटीले थाहा पायो भने कुट्न आउँथे । तैपनी त्यो जोखिम मोल्न हामी तयार भैदिन्थ्यौँ । किनकी जोखिम मोलेर चोरी ल्याएको केरा खाँदाको आनन्द नै बेग्लै हुन्थ्यो । विभिन्न जोखिम मोल्दै कहिले केरा चोथ्र्यौँ, कहिले सुन्तला । कहिले मेलनस्पाती त कहिले लिखु । कहिले काँक्रा चोथ्र्यौँ त कहिले बन्धारीमा राखिएका भुजा । कहिले अमिला चोथ्र्यौँ त कहिले काल्जारिम । खै किन हो चोर्नु पाप हो भनेर जान्दाजान्दै पनि चोर्न पछि हट्थेनौ कोहिपनी ।
गोबर्धन पुजालाई हामी विशेष किसिमले हेथ्र्यौँ । किनकि त्यो दिन बल्ल र बडको पुजा हुन्छ । बल्लको घाँटिमा रङ्गिन डोरी र सिङमा रङ्गिन फुर्का बादथ्यौँ । बल्लका शरिरभरी फुलले रङ्गिन बट्टा बनाइदिन्थ्यौँ । हामी साथी साथिको प्रतिस्पर्धा नै हुन्थ्यो । कसका बल्ल निका देखिए ? कसका बल्लका डोरा र फुर्का रामडा भए ? तुलना गथ्र्यौँ दिनभरी आफ्ना बल्ललाइ अर्खा बल्लसङ्ग । जसका बल्लाका सिङ ठुला छन, उसका बल्लको सिङमा बाँधिएका फुर्का रामडा देखिन्थे ।
दुत्यको सबैभन्दा महत्वपूर्ण दिन भाइटिकाको दिन हुन्थ्यो । पर्भातै उठी गाड गएर हड धुन्थ्यौँ । आमाले लाउनबाबर पकाउनुहुन्थ्यो । गाउँभरी सबैका घरमा लाउनबाबर, खजुरा पाक्थे । निसौसे र फौने माणा पाक्थे । बिहानैदेखि अलग्गै सान र मान हुन्थ्यो हाम्रो । दशैँमा किनेका नयाँ लुगा लगाएर सजिन्थ्यौँ भाइटिकाको लागि । टिकाको शुभसाँइतमा आँगनमा मट्टो माथी दन बिछ्याएर तयार हुन्थ्यौँ । थालिभरी लाउनबाबर, केरा, सुन्तला राखेर दिदिहरु टीका र माला लगाउन बस्नुहुन्थ्यो । म आफुलाइ खुबै भाग्यमानी सम्झन्थे । टोक्करी फूलका मालाहरुले घाँटी भरिन्थ्यो । निर्वाचन जितेपछिको नेताको झल्को दिने माहोल बन्थ्यो केही पल । निधारभरी रातो टीका र अक्षता, घाँटिभरी टोक्करी फूलकी माला । खुब सुहाएको हुन्थ्यो । यदि त्यो बखत क्यामेरा भैदिएको भए आज ती पलहरु मेरा फोटो एल्बममा सजिएका हुन्थे । न त क्यामेरा थिए, न त मोबाइल त्यो बखत । तथापि ती पलहरु मेरो मानसपटलको क्यानभासमा अहिले पनि ताजै छन, जिवितै छन । तिनै बाल्यकालिन र किशोरकालिन दुत्यहरु सम्झेर अहिले पनि मन रोमान्चित हुन्छ, आनन्दित हुन्छ । कहिलेकाही सपनामै रमाउँछु ।
प्रतिक्रिया