धनगढी । चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्नै लाग्दा सुदूरपश्चिम प्रदेशको बजेट खर्च निराशाजनक छ । आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट ल्याएको सरकारले बजेट खर्च बढाउन सकेको छैन ।
प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार मंसिर १० गतेसम्मको बजेट खर्च ९.२२ प्रतिशत छ । त्यसमध्ये पूँजीगत खर्च ६.५७ प्रतिशतमात्र छ । यो अवधिमा सरकारले तीन अर्ब ९६ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
सरकारले चालुतर्फ एक अर्ब ७७ करोड ६४ लाख र पूँजीगततर्फ एक अर्ब २३ करोड ४२ लाख खर्च गरेको छ । चालुतर्फको खर्च १३.८१ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पूँजीगततर्फ १८ अर्ब ७६ करोड २३ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटको ५९.३२ प्रतिशत पूँजीगततर्फको बजेट छ ।
आर्थिक वर्ष सुरु भएको करिब दुई महिनापछि गत असोज ६ गते सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सरकारको बजेट पारित भएको थियो । ढिलोगरी बजेट आएकाले अधिकांश योजनाहरु कार्यान्वयनमा जान सकेका छैनन् । जसले गर्दा बजेट खर्च पनि न्यून देखिएको हो । यस वर्ष बजेट खर्च घट्ने देखिएको छ ।
प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गर्ने र सभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर यसअघिको सरकार अल्पमतमा परेपछि सदनमा पेश गरेको बजेट पारित हुन सकेन । बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश बजेटविहीन अवस्थामा गएको थियो ।
काँग्रेस–एमाले समीकरणसँगै नयाँ सरकार गठन भएपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अघिल्लो सरकारले ल्याएको आकारकै बजेट भदौ ३१ गते प्रदेश सभामा पेश गरेका थिए ।
प्रतिक्रिया